एजेन्सी । भ्रष्टाचार आरोप लागेका पाकिस्तानी क्रिकेटर उमर अकमललाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले तीन वर्षको प्रतिबन्ध लगाएको छ ।
अनुशासन कमिटीका अध्यक्ष फजल-ए मिरानसहितको टोलीले सोमबार उनलाई तीन वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको पीसीबीले जनाएको हो ।
विकेटकिपर ब्याट्सम्यान अकमल पछिल्लो समय आफ्नो खेलभन्दा पनि विवादका कारण निकै चर्चामा थिए ।
विभिन्न आरोपमा मुछिँदै आएका अकमलमाथि आजीवन प्रतिबन्धको खतरा थियो ।
तर, पीसीबीको अनुशासन कमिटीले उनलाई क्रिकेटको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरि तीन वर्षको प्रतिबन्ध लगाएको हो ।
कमिटीले गत साता अकमलको सुनुवाइका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र खेलाडीलाई सूचना पठाएको थियो । कमिटीले सुनुवाइका दौरान सामाजिक दूरीको पालना गर्न सबैलाई आग्रह गरेको थियो ।
पीसीबीले भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै अकमललाई आचारसंहिता अनुच्छेद २.४.४ को उल्लंघन गरेको आरोप लगाएको थियो ।
त्यसपछि बोर्डले यस विषयको छिनोफानोका लागि अनुशासन समितिलाई सुम्पेको थियो । अकमलमाथि सट्टाबाजीमा मिलेमतो गरेको र बोर्डलाई जानकारी नदिएको आरोप लागेको थियो ।
२९ वर्षीय अकमलले पाकिस्तानका लागि १६ टेस्ट, १२१ एकदिवसीय र ८४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले आफ्नो अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल श्रीलंकाविरुद्ध २०१९ को अक्टुबरमा लाहोरमा खेलका थिए । यो उनको अन्तिम अन्तर्राष्ट्रिय खेल हो ।






