बुटवल । नेपाल भारतबीचको सहमति अनुसार सीमा नजिक आआफ्ना देशका क्यारेन्टाइनमा रहेका अर्को देशका नागरिकलाई जिम्मा लगाउन थालिएको छ ।
झण्डै तीन साताको क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य चेक जाँच गरी सम्बन्धित देशलाई बुझाउन सुरु भएको हो ।
सुनौली नाकामा यस्तो कार्य सुरु भएको छ । यस्तो कार्य थाल्दै भारतले सीमा नजिक भारतीय क्षेत्रका क्यारेन्टाइनमा रहेका नेपालीमध्ये कैयौँलाई प्रक्रिया पु¥याएर नेपाललाई हस्तान्तरण गरेको छ । बाँकीलाई पनि क्रमशः बुझाउने जनाएको छ ।
१२५ लाई नेपाल ल्याइयो
भैरहवा समाचारदाताका अनुसार भारतीय क्वारेन्टाइनमा रहेका नेपालीमध्ये १२५ लाई शुक्रबार नेपाल ल्याइएको छ ।
अपरान्ह भारतीय अधिकारीहरूले क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई बेलहियामा नेपाल सरकारको जिम्मा लगाएका हुन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतको क्वारेन्टाइनमा करिब ३०० जना नेपााली बसेको र उनीहरूमध्ये शुक्रबार १२५ जनालाई नेपाल ल्याइएको बताउनुभयो ।
तीन साताको क्वारेन्टाइन बसाई पूरा गरेपछि उनीहरूलाई स्वास्थ्य चेकजाँच गरी नेपाल ल्याइएको हो । उनीहरूको ¥यापिड टेस्ट गरेपछि सम्बन्धित जिल्लामा पठाइने प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।
भारतले नौतनवाका विद्यालय र कलेजका तीनवटा अलग अलग स्थानका क्वारेन्टाइनमा नेपालीलाई राखेको थियो ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम थापाले क्वारेन्टाइनमा बसेका नेपालीको अवस्था सामान्य रहेको बताउनुभयो ।






