काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा फेला परेको एउटा शवको केही भाग महिलाको हुन सक्ने प्रहरीले प्रारम्भिक आशंका गरेको छ । चिकित्सकसहितको टोलीले बोरामा जलाएर पोको पारेर राखेको खुट्टाले पैतला हेरेर प्रारम्भिक रुपमा महिलाको शवको भाग हुन सक्ने आशंका गरेको हो ।
प्रहरीका अनुसार हत्यापछि शव जलाएको र बाँकी भाग यहाँ फालेको हुनसक्छ । तर, कसले कहिले फालेको भन्ने केही खुलेको छैन ।
प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरको प्रयोग गरे पनि कुकुरले कुनै सुराक नदिएको एक प्रहरी अधिकारीले जानकारी दिए । चिकित्सकहरुले शव दुई/तीन हप्तापहिलेकै हुन सक्ने अनुमानसमेत गरेका छन् । तर, विस्तृत विवरण भने परीक्षणपछि मात्रै जानकारी हुनेछ ।
काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले कुनै ठाउँमा जलाएर शवको केही भाग यहाँ फालेको हुन सक्ने आशंका गरे ।
उनले भने, “प्रारम्भिक रुपमा अनुसन्धान अगाडि बढाएका छौँ । खुट्टाको केही भाग फेला परेको छ । कुनै ठाउँमा जलाएर ल्याएर बाँकी रहेको भाग यहाँ फालेको हो कि भन्ने आशंका छ ।”






