Home / Nepal / बढ्यो विदेशी मुद्राको सञ्‍चिति

बढ्यो विदेशी मुद्राको सञ्‍चिति

काठमाडौं । रेमिट्यान्सको वृद्धिसँगै निर्यातमा भएको वृद्धि र आयत घट्दा फागुनसम्मको नेपालको आर्थिक परिसूचकहरू सकारात्मक देखिएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्त अर्थात् पहिलो आठ महिनामा नेपालको वस्तु निर्यात २२.३ प्रतिशतले वृद्धि हुँदा आयात भने २.६ प्रतिशतले घटेको छ । यस्तै गत आर्थिक वर्षको यही अवधिको तुलनामा चालु आवको फागुन मसान्तमा रेमिट्यान्स पनि १.८ प्रतिशतले वृद्धि भएको छ । 

त्यस्तै प्रत्यक्ष वैदेशिक लगानी पनि वृद्धि हुँदा गत आवमा झन्डै एक दशकपछि वार्षिक रूपमा घाटामा गएको शोधनान्तर बचत बढ्दै गएको छ ।

चालु खाता खाटा घटेको छ भने विदेशी विनिमय (विदेशी मुद्रा) को सञ्चिति पनि बढ्दै गएको छ । यद्यपि विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस (कोभिड १९) को महामारीको असर फागुनमा नेपालमा खासै नदेखिएकाले आर्थिक परिसूचक सकारात्मक देखिए पनि चैतदेखिको आर्थिक परिसूचकमा भने प्रभाव पर्ने अर्थतन्त्रका जानकारहरू बताउँछन् ।

चैतमा विप्रेषण आप्रवाह ह्वातै घटेको, निर्यात व्यापार ठप्पजस्तै रहेको तर आयात नियमित रूपमा भएकाले विदेशी विनिमय सञ्चिति, चालु खाता, शोधनान्तर स्थितिमा त्यसको प्रभाव पर्नेछ । 

चालु आवको सुरुवातबाटै बचतमा रहेको शोधनान्तर स्थितिले आर्थिक वर्षको ८ महिनासम्म पनि निरन्तर पाएको छ ।

नेपाल राष्ट्र बैंकको फागुन मसान्तको तथ्यांकअनुसार शोधनान्तर स्थिति ३७ अर्ब ८४ रुपैयाँले बचतमा छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा थियो । 

यता आवको आठ महिनाको तथ्याकमा चालु खाता घाटा पनि घटेको छ । गत आवको फागुन मसान्तमा १ खर्ब ९१ अर्ब ४९ करोडले घाटामा रहेको चालु खाताको अवस्था यो वर्षको सोही अवधिमा १ खर्ब २४ अर्ब ९३ करोड छ । 

यस्तै चालु आवको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि बढेको छ । गत आवको पहिलो आठ महिनामा ६ अर्ब ६६ करोड मात्रै वैदेशिक लगानी भित्रिएकामा चालु आवको सोही अवधिमा १५ अर्ब ६१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

फागुन मसान्तसम्मको कुल पुँजीगत ट्रान्सफर भने ११ अर्ब १५ करोड छ । 

बढ्यो विदेशी मुद्राको सञ्‍चिति
चाल आर्थिक वर्षको सुरुवात अथवा गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको विदेशी विनिमय सञ्चिति फागुन मसान्त अर्थात् आठ महिनाको अवधिमा करिब एक खर्बले वृद्धि भएर ११ खर्ब ३६ अर्ब ५१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा ९ खर्ब ८३ अर्ब ५५ करोड र अन्य बैंक तथा वित्तीय संस्थामा १ खर्ब ५२ अर्ब ९६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्‍चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत छ ।

चालु आवको फागुन मसान्तसम्मको आयातलाई आधार मान्ने हो भने बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *