काठमाडौं । नेपालगन्जमा कोरोना संक्रमित बढेपछि निषधाज्ञा जारी गर्दै सेना परिचालन गरिएको छ ।
आजबाट २५ गते रातिसम्म लागु हुनेगरी नेपालगन्ज उपमहानगर क्षेत्रमा निषेधज्ञा जारी गरिएको हो । आजमात्रै नेपालगन्जमा थप सातजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।
सातैजना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । यसअघि आइतबार नेपालगन्जमै १५ जना संक्रमित फेला परेका थिए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले संक्रमित बढेसँगै चुनौती थपिएको बताए । उनका अनुसार पहिलो व्यक्तिको सम्पर्कमा आएका ९० जनाको परीक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिनुले चुनौती थपिएको हो ।






