एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत आज भएको दोस्रो खेलमा टोटनहमले लेस्टर सिटीमाथी सहज जित निकालेको छ ।
घरेलु मैदानमा भएको खेलमा टोटनहमले सिटीमाथी ३ गोलको सहज जित निकालेको हो। टोटेनहमको जितका लागि ह्यारी केनले दुई गोल गरे भने एक गोल लेस्टरले आत्मघाती गरेको थियो।
आत्मघाती गोलबाट अग्रता लिएको टोटेनहमले थप दुई गोल पहिलो हाफमा नै गरेको थियो।
खेलको छैटौं मिनेटमा सिटीका जेम्स जस्टिनले आत्मघाती गोल गर्दै घरेलु टोलि टोटेनहमलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा केनले गोल गर्दै अग्रता दोब्बर पारे । उनले लुकासको पासमा गोल गरेका हुन् ।
त्यस्तै ४०औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे | उनले लुकासकै पासमा गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा ३ गोलको अग्रता दिलाए ।
दोस्रो हाफमा कुनै गोल हुन सकेन र टोटनहम विजयी भयो। जीतसँगै ३७ खेलबाट ५८ अंक बटुलेको टोटनहम अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ भने पराजित लेस्टरको समान खेलबाट ६२ अंक रहेको छ।






