– अशिम सापकोटा
नेपाल जडीबुटीको प्राकृतिक स्रोत साधनको धनी देशका रूपमा चिनिन्छ । जुन मुुलुकले आफ्नो उन्नतिका लागि आफ्नै स्रोत साधनमा आश्रित हुन्छन्, त्यो मुलुकमा वास्तविक र दिगो विकासको सुनिश्चितता हुन्छ ।
यस दृष्टिकोणबाट हेर्ने हो भने नेपालको विकास आधार भनेको जलसम्पदा, जडीबुटीको विकास, कृषि तथा पर्यटन नै हुन् । यिनै चारै आधार मध्ये नेपाल राष्ट्रको वैभव एवं समृद्धिको अस्थित्व खोजिनु पर्छ ।
यसमध्ये सबैभन्दा महत्वपूर्ण जडीबुटी सम्पदा पर्छ । प्रकृतिले हामीलाई यति धेरै सम्पन्न बनाएको छ । हामीले यसको प्रयोग पूर्णरूपले गर्न सकेको छैनौँ भने अर्कोतर्पm हाम्रा भीरपाखा पहाडहरूमा रहेको जडीबुटी स्याउला र सोत्तरका रूपमा खेर गइरहेको छ ।
कुड्की, अलैँची, अदुवा, स्थानिय लसुन, मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धा, चिराइतो, रिट्ठा, टिमुर, तेजपात÷दालचिनी, सुगन्धवाल, चिराइतो, यार्सागुम्बा, पाखनवेद, पाँचऔँले, अस्वगन्धा, लौठसल्ला, मेन्था, केमोमाइल, सिट्रोनेला, टिमुर, तेजपात, जटामसी, पाँचऔँले, कुट्की, निरमसी हर्रो, बर्रो, अमला, बोझो जस्ता हजारौँ औषधीय महत्वपूर्ण खाद्य वस्तु नेपालमा उत्पादन हुन्छन् तर यसको बजारीकरण गर्न सकेका छैनौँ ।
यसरी नेपाल जडीबुटीको अपार प्राकृतिक स्रोत र साधनको देश हो । जडीबुटी विशेष गरेर हिमाली, पहाडी र तराईं क्षेत्रमा जडीबुटी तथा विभिन्न वनस्पति पैदावारको प्रचुर सम्भावना देखिन्छ ।
यसको सही र समुचित ढङ्गले सदुपयोग गर्न सकेमा मात्र यो आर्थिक समृद्धिको आधार बन्न सक्छ । देशमा छरिएर रहेका विभिन्न औषधि एवं सुगन्धित जडीबुटी सङ्कलन गर्न सकिन्छ ।
विदेशी बजारमा निकासी गरी वैदेशिक मुद्रा आर्जन, रोजगारी सिर्जना, राजस्वमा ठूलो वृद्धि हुने देखिन्छ ।
त्यसैले नेपालमा उपलब्ध हुने जडीबुटीलाई समुचित रूपमा सङ्कलन र व्यावसायिक रूपमा उपयोगी हुनसक्ने र जडीबुटीलाई खेतीयोग्यका रूपमा लिन सकिन्छ ।
यसतर्पm सरकारको ध्यान जानु जरुरी छ ।अर्को बिर्सन नहुने पक्ष के पनि हो भने वन भनेको मात्र काठ होइन । यसमा भएका असंख्य मूल्यवान जडिबुटीबाट पनि मनग्य आम्दानी लिन सकिन्छ ।
हाल नेपालबाट ९० प्रतिशतभन्दा बढी जडिबुटीहरु अप्रशोधित रुपमा विदेश निकासी भइरहेका छन् ।
जसको कारणले नेपालले यसको वास्तविक मूल्यभन्दा धेरै कम फाइदा लिन सकेको छ ।
यसको मुख्य कारण नेपालको जडिबुटीको वास्तविक बजारमा पहुँच नहुनु र बजारको मागअनुसार प्रशोधन गर्न हामीसँग प्रविधि नहुनु नै हो ।
जडिबुटीको विश्व बजारमा बढ्दै गइरहेको माग र कोरोनाजन्य प्रकोपले मानव जातिलाई प्रकृति उन्मुख बनाएको अवस्थामा यसको माग आगामी वर्षहरुमा झनै बढ्ने देखिन्छ।
विश्व बजारमा पहुच पुर्याउन नेपाल एक्लैको प्रयासले सहज देखिदैन।
त्यसैले विदेशी लगानी भित्राउन आवश्यक छ । विदेशी कम्पनीहरुले लगानी मात्र नल्याई प्रविधिका साथै बजारको सुनिश्चितता गर्दछन् ।
तर फेरि चुरो कुरो भनेको दिगो व्यवस्थापन नै हो । यसमा पनि समुदायको ठुलो भूमिका हुन्छ ।
जडिबुटीको संरक्षण, व्यवस्थापन र प्रारम्भिक प्रशोधनको काम समुदाय स्तरमा गरी मूल्य अभिवृद्धि र निकासी निजी क्षेत्रबाट गर्नु पर्ने हुन्छ ।
राज्यले अप्रशोधित जडिबुटीको निकासीलाई निरुत्सायित गर्नुपर्ने हुन्छ भने प्रशोधित अथवा अर्ध प्रशोधित जडिबुटीको निकासीलाई सहजिकरण गर्नुपर्दछ ।
अन्तमा कोरोना भाइरस महामारीले पुराएको आर्थिक क्षतिलाई न्यूनिकरण गर्दै समृद्धिको बाटोमा अघि बढ्न देशमै रहेका प्राकृतिक स्रोत र साधनहरूको उचित र दिगो व्यवस्थापन गर्नु पर्ने देखिन्छ अन्यथा देशको अर्थतन्त्रमा दुर्घटना हुन सक्छ ।
लेखक सापकोटाले डेढ दशकयता कृषि क्षेत्रमा कलम चलाउदै आउनु भएको छ ।






