ब्रह्माण्डमा पृथ्वी एउटा यस्तो ग्रह रह्यो जहाँ मानव लगायत करोडौँ प्रजातिहरूले जीवन जिउने अवसर पाएका छन् । जसमा हामी करिब साढे सात अर्व मानिसहरू यसमा विचरण गरिरहेका छौँ।
अन्य प्राणीहरूको अनुपातमा बढी चेतनशील मानिएको मान्छे आफूले बसेको घर मर्मत गर्न चिन्तनशील हुनुपर्ने हो । विडम्बना मात्र त्यही मानिसले यो धर्म निभाउन चुकेको छ ।
बरु मानिस बाहेक अन्य हरेक जीवहरूले आफ्नो प्रकृति प्रदत्त धर्म छोडेका छैनन् ।
अनि प्राणीहरूमा विशिष्ट कहलिएको मानिसले आफ्नो स्वार्थपूर्तिका लागी सबै मानवीय मूल्य मान्यताहरुलाइ तिलाञ्जली दिइरहेको छ।
फलस्वरूप बेलाबखत मानव सभ्यता माथि नै सङ्कट पैदा गर्ने गरी हलचल ल्याउन प्रकृति लाई मानव स्वयं ले बाध्य बनाइरहेको छ।
यसैका लागि, यतिखेर कोभिड १९ नामक भाइरस समय छँदै सच्चिन र पर्यावरणको रक्षा गर्दै मानव लगायत समग्र प्राणी जगतको अस्तित्व रक्षाको लागी निर्मम सन्देश लिएर विश्व भ्रमणमा निस्किएको छ भन्दा फरक पर्दैन ।
यसको मौन सन्देशलाई हामीले आत्मसाथ गर्न सकिएन भने भोलिका दिन हरू मानवको लागि झन् भयावह बनेर आउने निश्चित छ ।
यद्यपि प्रकृतिले जनाउ घण्टी दिएको यो नै पहिलो पटक भने होइन । प्लेग,बिफर,हैजा, स्पेनिस फ्लु, एड्स, सार्स,मर्स,इबोला, स्वाइन फ्लु जस्ता रोगहरू मार्फत शताब्दीयौं देखि मानव हरूलाई स्वयं सच्चिनका लागि सूचना प्रवाह गरिरहेकै थियो।
तर हामीले यसलाई नजरअन्दाज गर्दै प्रकृति विरुद्ध का क्रियाकलापहरू लाई निरन्तरता दिँदै यसैको दोहन गर्दै चन्द्रमा र मङ्गल ग्रहमा बसाइ सर्ने तरखरमा लागिरह्यौँ।
हामी आज कोरोना का कारण जसरी आतङ्कित छौँ ठिक त्यसै गरी नसर्ने र निको नहुने रक्तचाप, चिनी रोग, हृदय घात, मस्तिष्क घात, क्यान्सर जस्ता रोगहरूले पनि मानिसहरू लाई हरेक पलमा लखेटिरहेको छ।
हामी काट्न ठिक्क पारेको खसी फुत्किएर भागे झैँ कुनै न कुनै उपाय मार्फत आफ्नो आयु लम्ब्याउन हर प्रयत्न गरिरहेका छौँ ।
विश्वका ठुला भनिएका देशहरूले सुरु गरेको प्रकृति दोहन र लुटपाटको संस्कृतिको विकास सँगसँगै मानवीयता सङ्कटमा परेको छ।
पैसा, पद, प्रतिष्ठा र शक्ति सञ्चय गर्ने होडबाजीमा सिङ्गो विश्व समुदाय प्रतिस्पर्धामा छ ।
आणविक हतियारहरूको निर्माण, अत्यधिक प्रदूषणयुक्त उद्योग,खेतबारीमा हानिकारक रसायनको प्रयोग, बिउहरूमा अनुवंश परिवर्तन,प्राकृतिक स्रोतहरूको दोहन लगायतका गैर प्रकृति गतिविधिहरू बाट तीव्र गतिमा पृथ्वीको तापक्रममा वृद्धि भई जलवायु परिवर्तन भइरहेकोले पनि पृथ्वीवासीहरूले अब आफ्नो जीवन जिउने कला फेर्न ढिलो भइसकेको छ।
सुरुवात आफैबाट गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्नका लागी विश्वको सर्वोच्च स्थान र गरिमामय देव भूमिबाट विश्वलाई समेत सकारात्मक सन्देश प्रवाह गर्ने उचित समय आएको छ।
हामीले प्रयोग गर्दै आएको आधुनिक कृषिको प्रणाली र विकसित परिस्थितिले सिकाएको पाठलाई विश्लेषण गर्दै ढिलै भए पनि हामी र हाम्रा सन्तति हरूको भविष्य सुनिश्चितताको लागी समयमै सुरक्षित गन्तव्यका लागि सही बाटो निर्धारण गर्नु बुद्धिमानी हुनेछ ।
खेतीपातीमा लगभग पाँच दशकदेखि प्रयोगमा ल्याइएको आयातित रासायनिक पदार्थ र नपुंसक बिउको भरमा विकास गरिएको व्यापारिक कृषिले अन्ततोगत्वा नेपालको कृषिलाई रसातलमा पुर्याइरहेकै छ ।
झन्डै शतप्रतिशत जनताहरूले हजारौँ वर्षदेखि अवलम्बन गर्दै आएको जीवन उपयोगी पर्यावरण मैत्री दिगो कृषिमा आधारित कृषि पद्धति र यसले निर्माण गरेको आधारशिला हरू विशेषतः दोस्रो विश्वयुद्धपछि सुरु भएको रसायनमा आधारित हरित क्रान्ति का बाछिटाका कारण आधा शताब्दी मानै मरणासन्न अवस्थामा पुगेको छ ।
लहैलहैमा लागेर देशले अवलम्बन गरेको कृषिसँग सम्बन्धित गलत नीतिहरू का कारण भुईँको टिप्न खोज्दा पोल्टाको समेत पोखिएको कुरा आज विभिन्न तथ्य तथ्याङ्कले पुष्टि मात्र गरेका छैनन् आम नेपालीहरूले अनुभूत समेत गरिरहेका छन्।
मित्र जीवहरूको लोप ,खेतबारीमा प्रयोग भएका रासायनिक पदार्थको प्रयोगबाट मानव स्वास्थ्यमा देखिएको डरलाग्दो समस्या, दिन दिनै मर्दै गएको उत्पादनशील माटो, असन्तुलित बन्दै गरेको पर्यावरण , लगभग लोपोन्मुख अवस्थामा पुगेका रैथाने बीउ जस्ता संवेदनशील विषयहरू यसको बलियो प्रमाणहरू हुन।
यसै गरी जलवायु परिवर्तन बाट सिर्जित समस्यासँग जुध्नुपर्ने बाध्यता, बेलाबखत यसै गरी बाली र मानिसहरूमा देखिने महामारी लगायतका अनगिन्ती समस्या को समाधान खोज्न अब ढिलो गर्नु हुँदैन।
यतिखेर जन्म घर बाट टाढा रहेका आम नेपालीहरूले खुल्ला गाउँ, त्यहाँको दैनिकी जीवन , जैविक प्रणालीबाट उत्पादित अन्नपात, खेतीपाती, दही दूध, फलफूल झलझली सम्झिरहेका छन् र उनीहरू आफ्नो हातमा रहेको सामाजिक सञ्जालमार्फत आफ्ना बिचारहरू प्रस्तुत गरिरहेका छन्।
यो प्रतिनिधिमूलक मात्र हो यथार्थमा जीवन र जगतको रक्षार्थ आम नेपालीहरू विकासका नाममा बढेको सहरीकरण र थोपरिएको घातक रसायनबाट उन्मुक्ति खोजिरहेका छन् ।
जन उत्तरदायी सरकारहरूले यस्ता जनभावनाहरू को सम्मान गर्दै तदनुरूपको नीति निर्माण गर्नु र भोलि को भविष्यलाई कम जोखिम युक्त बनाउने तर्फ समयमै विवेक पुर्याउन उचित हुनेछ ।
आँखाले देख्न नसकिने अति सूक्ष्म भाइरसले लखेटेर एउटा कोठामा लुक्नु परिरहेको यो विषम परिस्थितिमा आउनुहोस् तपाई हामी सबै मिली आ आफ्नो स्थानबाट विगतमा गरिएका गल्तीहरूलाई सच्याउँदै जैविक नेपाल बनाउने प्रण गरौँ ।
-उद्धव अधिकारी सस्थापक अध्यक्ष,राष्टिय कृषक समुह महासंघ नेपाल तथा जैविक खेती अभियन्तातता






