Home / Nepal / News / कोरोनाविरुद्धको खोप पत्ता नलागेसम्म जीवन सामान्य हुँदैन : स्पेनी प्रधानमन्त्री

कोरोनाविरुद्धको खोप पत्ता नलागेसम्म जीवन सामान्य हुँदैन : स्पेनी प्रधानमन्त्री

मड्रिड । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले नोभेल कोरोना भाइरसविरुद्धको खोप पत्ता नलागेसम्म जीवन सामान्य अवस्थामा फर्किन नसक्ने बताएका छन् । 

बुधबार संसदमा बोल्दै उनले भने, “कोरोनाविरुद्धको खोप पत्ता नलागेसम्म केही सामान्य हुँदैन । जीवन सामान्य अवस्थामा आउनका लागि खोप पत्ता लाग्‍नुपर्छ । त्यस समयसम्म निकै ठूलो सावधानी अपनाउनुपर्छ ।” 

पछिल्लो २४ घण्टामा स्पेनमा नयाँ कोरोना संक्रमित ५ हजार एक सय थपिएका छन् भने ५२३ जनाको मृत्यु भएको छ । 

हालसम्म स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख ७७ हजार ६३३ रहेको छ । कोरोना संक्रमणबाट स्पेनमा १८ हजार ५०० को मृत्यु भएको छ । 

यही साताको सुरुआतदेखि स्पेनमा केही प्रतिबन्धहरु फुकुवा गरिएका छन् । जसमा केही उत्पादन र निर्माण क्षेत्रहरु खुला गरिएका हुन् । सुरक्षा सावधानी अपनाउँदा ती क्षेत्रमा काम गर्नेहरु फेरि काममा फर्किएका छन् । 

सामाजिक दूरी भने कायम गर्न निर्देशन दिइएको छ । – बीबीसी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *