एजेन्सी । कारावाओ कप फुटबलमा बर्निलले सेफिल्ड युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । बिहीबार राति भएको खेलमा बर्निलले सेफिल्ड युनाइटेडलाई पेनाल्टीमा ५–४ गोलले पराजित गरेको हो ।
बर्निलको घरेलु मैदानमा भएको खेलमा अग्रता लिएको पाहुना टोली युनाइटेडले अग्रता जोगाउन नसक्दा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । खेल बरारबीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा बर्निलले बाजी मारेको हो ।
खेलको चौथौ मिनेटमा नै युनाइटेडले अग्रता लिएको थियो । डेभिड म्याकगोल्ड्रिकले लोवेको पासमा गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १–० गोलको अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा घरेलु टोलीले एक गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो ।
खेलको ६७ औं मिनेटमा बर्निलका स्ट्राइकर माटेज भिड्राले गोल गर्दै खेल बरारबीमा ल्याएका थिए । उनले जय रोड्रिगेजको पासमा गोल गरेका थिए ।
जितसँगै बर्निल कारावाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।





