छन्द :- मन्दाक्रान्ता
खाना पाक्ने समय जहिले गर्छ छोरो प्रतिक्षा
सक्दा सक्दै अब सडकको छैन खाने म भिक्षा ।
भन्ने मेरो हर समझले रातमा भोक जाग्छ
आफैँ दुःखी श्रमिक बबुरो बाँच्नु धिक्कार लाग्छ ।।
१
सानो खाने गरिबगुरुवा पूर्ण रोक्यो गुजारा
सानी छोरी उदय शिशुको छैन खाने अहारा ।
मागी खाने मनुज जनमा दानको भाव जाग्छ
आफैँ दुःखी श्रमिक बबुरो बाँच्नु धिक्कार लाग्छ ।।
२
साहू मेरो कमिसन भनी स्रोत सारा असुल्छ
आए धेरै कमिसन दिने ठाँउ मेरो बदल्छ ।
यस्ताे नाथे समय छलको आत्म हारेर थाक्छ
आफैँ दुःखी श्रमिक बबुरो बाँच्नु धिक्कार लाग्छ ।।
३
मान्ने पुज्ने गरिब जनको मूर्ति ढुङ्गा नबोल्ने
ती ज्ञानीको गरिब र धनी सोच होला नघोल्ने ।
को हाे हाम्रो भनन भगवान् भाव कङ्गाल माग्छ
आफैँ दुःखी श्रमिक बबुरो बाँच्नु धिक्कार लाग्छ ।।
४
ज्यालादारी मुलुक भरको माग्छ राजश्व हाम्रो
यत्रो माग्दा मुलुक रसको छैन विस्तार राम्रो
डुङ्गा जस्तो तन र मुटुको देश नेतृत्व भाक्छ
आफैँ दुःखी श्रमिक बबुरो बाँच्नु धिक्कार लाग्छ ।।
५
लेखक :- सोमनाथ दाहाल
ठेगाना :- लेटाङ्ग न.पा. – २ मोरङ्ग ( हाल धरान पिण्डेश्वर )






