Home / Society / कविता शीर्षक :- निम्न वर्ग

कविता शीर्षक :- निम्न वर्ग

छन्द :- मन्दाक्रान्ता

खाना पाक्ने समय जहिले गर्छ छोरो प्रतिक्षा
सक्दा सक्दै अब सडकको छैन खाने म भिक्षा ।
भन्ने मेरो हर समझले रातमा भोक जाग्छ
आफैँ दुःखी श्रमिक बबुरो बाँच्नु धिक्कार लाग्छ ।।

सानो खाने गरिबगुरुवा पूर्ण रोक्यो गुजारा
सानी छोरी उदय शिशुको छैन खाने अहारा ।
मागी खाने मनुज जनमा दानको भाव जाग्छ
आफैँ दुःखी श्रमिक बबुरो बाँच्नु धिक्कार लाग्छ ।।

साहू मेरो कमिसन भनी स्रोत सारा असुल्छ
आए धेरै कमिसन दिने ठाँउ मेरो बदल्छ ।
यस्ताे नाथे समय छलको आत्म हारेर थाक्छ
आफैँ दुःखी श्रमिक बबुरो बाँच्नु धिक्कार लाग्छ ।।

मान्ने पुज्ने गरिब जनको मूर्ति ढुङ्गा नबोल्ने
ती ज्ञानीको गरिब र धनी सोच होला नघोल्ने ।
को हाे हाम्रो भनन भगवान् भाव कङ्गाल माग्छ
आफैँ दुःखी श्रमिक बबुरो बाँच्नु धिक्कार लाग्छ ।।

ज्यालादारी मुलुक भरको माग्छ राजश्व हाम्रो
यत्रो माग्दा मुलुक रसको छैन विस्तार राम्रो
डुङ्गा जस्तो तन र मुटुको देश नेतृत्व भाक्छ
आफैँ दुःखी श्रमिक बबुरो बाँच्नु धिक्कार लाग्छ ।।

लेखक :- सोमनाथ दाहाल
ठेगाना :- लेटाङ्ग न.पा. – २ मोरङ्ग ( हाल धरान पिण्डेश्वर )

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *