मार्तडी १८ चैत । आइतबार परेको असिनापानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई नष्ट पारेको हो ।
जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्छन् ।
बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकासहित अछाम जिल्लामा असिनाले बालीमा क्षति पुर्याएको बुढीगंगा नगरपालिका १ का धर्मबहादुर भण्डारीले जानकारी दिए ।
हावा हुरीसँगै परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकेको जौ र तरकारीलाई नष्ट पारेको स्थानीय शंकर उखेडाले जानकारी बताए । ती नगरपालिकामा गहुँबाली बढी उत्पादन हुने गर्छ । बीउ उत्पादनका लागि लगाइएको गहुँ बालीमा क्षति पुगेको बुढीगंगा नरपालिका–३ गडतोलाका नरबहादुर रौलेले बताए ।
जिल्लाका अन्य स्थानीय तहमा जेष्ठ र असारसम्मगहुँबाली पाक्ने गरे पनि त्रिवेणी, बुढीगंगा सहितका स्थानीय तहमा चैतको अन्तिममा नै काट्न थाल्ने गरेका छन् । बेसी क्षेत्र र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ । यसअघि आएको असिनाले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका नोक्सानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस






