काठमाडौं: विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ ) का प्रतिनिधि र प्रधानमन्त्री केपी शर्मा ओलीबिच बिहीबार भेटघाट भएको छ। भेटमा विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ ) का प्रतिनिधि डा.जोस भान्डेयरले नेपालमा कोरोना संक्रमण अझै बढ्न सक्ने भन्दै चिन्ता प्रकट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए।
सो अवसरमा कोरोना महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरिरहेका कामहरुकोसमेत डा . जोसले प्रशंसा गरेका थिए।
तर , आगामी दिनहरु नेपालका लागि अझ खराब हुन सक्ने भन्दै त्यसका लागि तयारी गर्न पनि सुझाव दिएको थापाले बताएका छन। पछिल्ला दिनहरुमा संक्रमितको संख्या लगातार बढिरहेको छ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जना नयाँ संक्रमित थपिएका थिए। सो संख्या नेपालमा एकैदिन संक्रमित हुनेहरुको सबैभन्दा ठूलो हो । नेपालमा हालसम्म दुई दिनमात्र एकहजारभन्दा धेरै नयाँ संक्रमणका केस रेकर्ड भएका छन।
बिहीबार नेपालमा संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ भने ८ जनाको मृत्यु भएको छ।
गत २४ घण्टामा ५६ ९ जना डिस्चार्ज संगै कुल डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ। हालको सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ।






