Home / Nepal / News / १०८ घरमा “एक घर-एक धारा´´ जडान

१०८ घरमा “एक घर-एक धारा´´ जडान

स्याङ्जा : वालिङ–५ मजकोटमा १०८ घरमा एक घर एक धारा जडान गरिएको छ। लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो।

वालिङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र मल्लका अनुसार विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको छ। रु ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको छ। गाउँभन्दा तल रहेको बोहोरीखोला मुलबाट पानी तानेर मजकोटमा ल्याइएको र त्यहाँ ४० हजार लिटरको ट्याङ्कीमा पानी सङ्कलन गरी वितरण गरिएको इञ्जिनियर मल्लले बताए।

“बोहोरीखोला मुलबाट २८० मिटर ‘भर्टिकल हाइट’ मा सोलारमार्फत पानी लिफ्टिङ गरिएको छ”, इञ्जिनियर मल्लले भने, “३२० वाटका ३२ वटा सोलार प्यानलको प्रयोग गरी पानी तानिएको हो, सोलारको महशुल विद्युत्को भन्दा कम पर्ने देखिएको छ ।”

एक गाग्री पानीका लागि एकदेखि डेढघण्टा समय खर्चनुपर्ने अवस्था रहेकोमा योजनामार्फत गाउँमा पानी आए पछि निकै सहज भएको बोहोरीखोला लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष फणीन्द्र थापाले भने। “एक गाग्री पानीका लागि प्रत्येक घरले एकदेखि डेढघण्टा समय छुट्टयाउनुपथ्र्यो”, अध्यक्ष थापाले भने, “वालिङ नगरपालिकाको पहलमा अहिले गाउँका प्रत्येक घर–घरमा खानेपानीको धारा जडान गरेका छौँ, पानीको निकै सहज भएको छ।”

खोल्सा खोल्सीमा गएर पालो कुरेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ भने पानी बोक्दा बोक्दै थकाइ लाग्ने अवस्था अब नरहने अध्यक्ष थापा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *