काठमाडौँ । यस वर्षको मनसुन पनि विगत वर्षझैँ ढिला सुरु हुने भएको छ । नेपालमा मनसुन भित्रिने समय आउन दुई दिन मात्र बाँकी छ तर मनसुनको छेकछन्द छैन ।
अहिले पूर्वमनसुन नै सक्रिय हुँदा पश्चिमी र अन्य वायुले वायुमण्डल ढाकिराखेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, हरेक वर्षको जुन १० तारिख मनसुन सुरु हुने मिति हो ।
पूर्वमनसुनी गतिविधि र अन्य मौसम प्रणाली अझै सक्रिय रहेकाले मनसुनका लागि उपयुक्त वातावरण बन्न नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि नेपालमा ‚थानीय वायु, पश्चिमी वायु र निसर्ग चक्रवातपछिको विहारमा रहेको न्यून चापीय प्रणालीको असर कायमै छ ।
पूर्वमनसुनको पश्चिमी वायुसँगै पछिल्लो समय दुईवटा चक्रवातको असरले मनसुनी प्रणालीलाई थप असर गरेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
बङ्गालको खाडीमा बनेको अम्पुन चक्रवात र हालसालै अरब सागरमा बनेको निसर्ग चक्रवातले मनसुनी गतिविधिमा बदलाव ल्याएको छ ।






