बीबीसी : रुसले राजधानी मस्काउस्थित सर्वसाधारणमा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको छ जसमा सबैभन्दा पहिले उच्च जोखिममा रहेका समुहलाई खोप दिइएको हो । यसमा रुसले अगस्टमा दर्ता भएको आफ्नै देशमा निर्मित ‘स्पट्नीक भी’ खोपको प्रयोग गरेको छ।
यसअघि स्पट्नीकका निर्माताहरुले यो खोप ९५ प्रतिशत प्रभावकारी साबित भएको दाबी गरेका थिए भने यसको कुनै ठूलो साइड इफेक्ट नभएको पनि बताइएको छ । तर अझैपनि खोपको अध्ययन र परीक्षण जरी नै छ । शनिबार र आइतबार मात्र हजारौँ मानिसहरुले पहिलो दुई डोज लगाउनका लागि आफ्नो नाम लेखाइसकेका छन् । तर यसमा रुसले कति मात्रामा खोप उत्पादन गर्न सक्छ भन्ने चाहिँ स्पष्ट जानकारी दिइएको छैन । यो वर्षको अन्त्यसम्ममा यसको २० लाख डोज तयार हुने अपेक्षा गरिएको छ ।
मस्काउका मेयर सेर्गीले अघिल्लो हप्ता नै यो कार्यक्रमबारे घोषणा गर्दै स्कुल, स्वास्थ्य निकाय र सामाजिक विभागमा कार्यरत शहरका झन्डै १ करोड ३० लाख मानिसलाई खोप लगाइने बताएका थिए । यसमा अझ धेरै खोप उपलब्ध भएपछि मानिसहरुको सूची पनि बढाउँदै लग्ने उनले बताएका हुन् । अहिलेका लागि भने अनलाइन दर्ता सेवा मार्फते स्वास्थ्य, शैक्षिक लगायत सामाजिक पेशामा संलग्नहरुले शहरका ७० स्थानमा आफ्नो नाम लेखाउन सक्छन् । यो कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा रहने बताइएको छ ।
तर पछिल्लो २ हप्तामा स्वास प्रस्वासमा समस्या वा यस सम्बन्धी रोग भएकाहरुलाई भने यसमा समावेश नगराइने बताइएको छ । त्यसैगरी केही दिर्गकालीन रोग भएकाहरु, गर्भवती र स्तनपान गराइरहेकाहरुलाई पनि अहिलेका लागि खोप नदिइने भनिएको छ ।
यसरी खोप अझै परीक्षणकै चरणमा भएपनि मानिसहरु आफ्नै इच्छाले खोप लगाउन तयार भएको बताइरहेका छन् । रुसमा मस्काउ, महामारीको केन्द्र बनेकाले पनि त्यहीँदेखि खोप लगाउन सुरु गरिएको सरकारले बताएको छ । संक्रमितको सङ्ख्या देशभर २४ लाख भन्दा बढी रहेको छ र अस्पतालहरुले यतिखेर आफ्नो क्षमता पार गरिसकेका छन् ।






