बीबीसी । अमेरिकाको अन्तर्राष्ट्रिय विद्यार्थी भिसा सम्बन्धी निर्णयप्रति राजनीतिज्ञहरु देखि शिक्षा विद्सम्म सबैले आक्रोश व्यक्त गरेका छन् । यसमा अनलाइन कोर्स मात्र गराउन बाध्य कलेज तथा युनिभर्सिटीका विदेशी छात्रहरुको विद्यार्थी भिसा रद्ध गराउने भनिएको छ ।
अमेरिकी आप्रवासन एवम् सिमा शुल्क प्रवर्तन विभाग, आईसीइका अनुसार कक्षा कोठामा उपस्थित नभइ अनलाइन क्लास मात्र लिनुपर्ने विद्यार्थीले अर्को युनिभर्सिटी नबदलिएमा तिनलाई आफ्नो देश फर्काउन पनि सकिनेछ । यस्तो अवस्थामा हालको कोभिड–१९ अवस्था हेरेर थुप्रै युनिभर्सिटीहरुले अनलाइन कक्षा जारी गराउने योजना बनाइरहेको हुँदा यो नीति अन्तर्राष्ट्रिय विद्यार्थीका लागि समस्याजनक हुने बताइएको छ । यसबाट कति सङ्ख्यामा छात्रहरु प्रभावित हुनेछन् भन्ने चाहिँ अहिले स्पष्ट भएको छैन ।
यसमा आईसीईद्वारा सञ्चालित ‘द स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम’ ले अहिलेका लागि भने स्प्रिङ र समर सेमेस्टरसम्म अनलाइन कोर्स भएका विद्यार्थीलाई अमेरिकामै रहन अनुमति दिइने अस्थाइ छुटको व्यवस्था मिलाएको बताएको छ । तर नयाँ शैक्षिक शत्रका लागि भने यस्तो कुनै छुट नहुने बताइएको हो ।
यसले विशेषगरी एफ–१ र एम–१ भिसामा अमेरिकामा बस्दै आएका विद्यार्थीलाई असर पार्ने आईसीईले आफ्नो वक्तव्यमा जनाएको छ ।
यसरी हाभर्ड युनिभर्सिटीले आगामी शैक्षिक वर्ष आफ्ना सबै कोर्स अनलाइन मार्फत पढाइने घोषणा गरेकै दिन यो खबर पनि बाहिर आएको हो ।
क्रोनिकल अफ हाइअर एजुकेसनका अनुसार केही महिनासम्म अमेरिकाका ९ प्रतिशत युनिभर्सिटीले अनलाइन क्लास गर्ने योजना बनाइरहेका छन् । तर समयसँगै परिस्थितिमा सुधार आए सो निर्णय बदलिन पनि सक्ने बताइएको छ ।
हाभर्ड युनिभर्सिटीका प्रमुख ल्यारी बेकोले अमेरिकी सञ्चारकर्मीहरु समक्ष भनेका छन्, “हामी आईसीईले जारी गरेको यो नयाँ नीतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौँ । किनकी अनलाइन कार्यक्रम अन्र्तगत रहेका अन्तर्राष्ट्रिय विद्यार्थी यसका कारणले जटिल समस्यामा पर्नेछन् ।
यसमा उनीहरुसँग कि स्कुल सर्नुपर्ने या देशै छाडेर जानु बाहेकको विकल्प हुनेछैन ।” उनले थप भनेका हुन्, “त्यसैले विश्व महामारीका बीच, स्वास्थ्य र सुरक्षा सम्बन्धी चुनौतिहरुलाई सन्तुलनमा राख्दै शैक्षिक गतिविधि जारी राख्ने योजनामा रहेका हाभर्डसहित अधिकांश युनिभर्सिटीका विद्यार्थीको तर्फबाट लिइएको यो निर्णयलाई वास्तवमै विचारशील भन्न सकिँदैन ।”
यसरी शारीरिक दूरी कायम राख्न सहज नभएकाले साधारण कोर्सलाई अनलाइन बनाइँदा यही कारणले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अमेरिकाबाट निकाल्नुले, विद्यार्थीलाई नराम्ररी चोट पुग्ने भन्दै डेमोक्रेटकी वरिष्ठ सिनेटर एलिजाबेथ वारेनले पनि असन्तुष्टि जनाएकी हुन् । यो अर्थहिन, क्रुर र भेदभावपूर्ण नीति भएको उनको आरोप छ ।
उनको यही भनाइमाथि प्रकाश पार्दै संयुक्त राष्ट्र संघका लागि पूर्व अमेरिकी दूत समान्था पावरले पनि अधिकांश कलेजका विद्यार्थीका लागि यो नियम अनुपयुक्त भएको बताएकी हुन् ।
न्युयोर्क युनिभर्सिटीमा पढाउने संचारकर्मी एलिजाबेथ स्पायर्सका अनुसार भिसामा निर्भर उनका प्रायः विद्यार्थी समय भिन्नतालगायत विभिन्न कारणले आफ्नो देशबाट अनलाइन कोर्स लिन नसक्ने अवस्थामा छन् जसकारण धेरैले पढाइ नै छाड्नुपर्ने स्थिति आउन सक्छ ।
त्यस्तै युनिभर्सिटी अफ साउथ फ्लोरिडाका एक ग्राजुएट विद्यार्थी मुहम्मद इहास रसुलका अनुसार यो खबरले पहिला नै धेरै कुरामा अनिश्चितता भोगिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अर्को ठूलो समसया थपिदिएको छ ।
पाकिस्तानबाट आएका रसुलले सीबीसी न्युजसँग भनेका छन्, “अन्तर्राष्ट्रिय विद्यार्थी अल्पसङ्ख्यकमा पर्ने हुँदा हामीले यसअघि नै आफूलाई यहाँको योग्य ठहर्याउन विभिन्न रुपमा प्रमाणित गरिरहनुपर्ने हुन्थ्यो । अब यससँगै आफ्नो युनिभर्सिटीमा बस्न पाउने हो अथवा होइन भन्ने चिन्ता पनि लिनुपर्ने अवस्थाले हाम्रो समस्यालाई झन ठूलो रुप दिएको छ ।”






