काठमाडौं । ललितपुर लगनखेलकी १३ वर्षीया किशोरीलाई बेचबिखनका लागि भारत पुर्याउने दुईजना पक्राउ परेका छन् ।
मानव बेचविखन अनुसन्धान व्युरोले भारतबाटै बालिकाको उद्धार गरी बेचबिखनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
व्युरोका अनुसार भारतीय प्रहरीको सहयोगमा प्रहरीले बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
गत फागनु ९ गते काठमाडौंको नयाँ बसपार्क बालाजुबाट कृष्ण मगर र प्रवीण तामाङ समेतले किशोरीलाई प्रभोलन देखाएर काठमाडौंबाट भैरहवा–सुनौली जाने बसमा सँगै लगी सुनौलीबाट भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर ओडओलिया पुर्याएको खुलेको छ ।
बालिकाको रसलपुरस्थित डान्स आर्केस्ट्राबाट उद्धार गरिएको हो ।
पक्राउ पर्ने कृष्ण मगर सिन्धुपाल्चोक बाह्रबीसे र प्रवीण तामाङ कास्कीका हुन् ।
उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको व्युरोका एसपी गोविन्द थपलियाले जानकारी दिए ।






