Home / Nepal / बाढीले सडक भत्किएपछि खच्चडबाट खाद्यान्न ढुवानी

बाढीले सडक भत्किएपछि खच्चडबाट खाद्यान्न ढुवानी

मनाङ : बाढीपहिराका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको छ। खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको हो।

पर्यटन तथा होटल व्यवसायी विनोद गुरुङका अनुसार स्थानीयवासीलाई खाद्यान्न अभावबाट बचाउने उद्देश्यले सोनाम घिर्मी फ्यामी फाउण्डेशनको सहयोगमा घुमाउरो बाटो हुँदै खाद्यान्न ल्याइएको र यहाँका विपन्न वर्गलाई वितरण गरिएको छ।

कास्कीको पोखराबाट म्याग्दीको बेनी–मुस्ताङको मुक्तिनाथ हुँदै थोराङ भञ्ज्याङ पास गरेर खाद्यान्न ल्याइएको उनले बताए। पोखरा–बेनी–मुक्तिनाथसम्म गाडीमार्फत खाद्यान्न ल्याइएको उनले जानकारी दिए। उनका अनुसार मुक्तिनाथबाट पाँच हजार ४१६ मिटर उचाईको थोराङ्ला पास हुँदै खच्चडमार्फत माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको हो।

अन्यत्र जिल्लाबाट आएर यहाँ काम गर्दै आएका ४० र मनाङ गाउँका विपन्न वर्गका सात घरधुरीसहित कूल ४७ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सोनाम घिर्मी फ्यामिली फाउण्डेशनको सहयोगमा विपन्न वर्गका लागि सामग्री वितरण गरिएको उनले बताए ।

यहाँका प्रत्येक परिवारलाई १२.५ किलो चामल, आठ किलो दाल, नुन तीन किलो, १.५ लिटर तेल वितरण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *