आज नवरात्रको नवौँ दिन घर घरमा नवौँ दुर्गा सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
नवरात्रको पहिलो दिन घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएकै दिन घटस्थापना गरिएको स्थानमा शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा गरि नवरात्रको सुरुवात गरी आज आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ।
आज नवरात्रको अन्तिम दिन मुमुक्षुहरुलाई मोक्ष प्रदान देवी सिद्धिदायिनीको पुजा गर्ने गरिन्छ ऊनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवीको रुपमा मानिएकी छिन्। सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ।
नवरात्रको पहिलो दिन शैलपुत्री देखी दोश्रो, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा र पहिलो दिन देखी नवौं दिनको अवधिलाइ नवरात्र भन्ने गरिन्छ।
देबिका नौ नाम स्मरणमात्र गर्नाले कष्ट वा सङ्कटबाट मुक्त हुने विश्वास गरिन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण आफ्नै घरमा पुजा अनुस्ठान गरिदैछ।






