Home / World News / टिकटिक प्रतिबन्धले भारतलाई के फाइदा हुन्छ ?

टिकटिक प्रतिबन्धले भारतलाई के फाइदा हुन्छ ?

एजेन्सी । चीनसँग सीमा क्षेत्रमा जारी तनावबीच सोमबार भारत सरकारले ५९ वटा एप्स बन्द गर्ने घोषणा गरेको छ ।

प्रतिबन्धित चिनियाँ एप्सहरूमा लोकप्रिय सोसल प्लेटफर्म टिकटक र वी–च्याट पनि समावेश छन् ।

अलिबाबा ग्रुपको यूसी ब्राउजर, फेसन वेंडर साइन र बाइडु म्याप्समा पनि प्रतिबन्ध लगाइएको छ ।  यी एप्सको प्रयोग एप्स र पर्सनल कम्प्युटर दुवैमा गरिन्छ ।

भारत सरकारले आफ्नो फैसलालाई आपातकालीन उपाय र राष्ट्रिय सुरक्षाका लागि जरुरी कदम भनेको छ । भारत र चीनका सेना लद्दाखको सीमा क्षेत्रमा आमने–सामने छन् ।

जुन १५ मा दुवै देशका सेनाबीच भएको हिंस्रक झडपका क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

भारतका सूचना एवं प्रसारणमन्त्री रविशंकर प्रसादले ट्विट गरेर भनेका छन्, “यो प्रतिबन्ध सुरक्षा, सम्प्रभुता र भारतको अखण्डताका लागि जरुरी छ । हामी भारतका नागरिकको तथ्यांक (डेटा) र गोपनीयतामा कुनै पनि प्रकारको चुहावट चाहँदैनौं ।”

सूचना एवं प्रसारण मन्त्रालयले आफ्नो बयानमा भनेको छ, “हामीलाई कैयौं स्रोतबाट यी एप्सबारे गुनासो प्राप्त भएको थियो । एन्ड्रोइड र आईओएसमा यी एप्सले नागरिकको निजी तथ्यांक चोरी गरिरहेका थिए । एप्समा लगाइएको प्रतिबन्धले भारतका मोबाइल र इन्टरनेट उपभोक्ता सुरक्षित हुनेछन् । यो भारतको सुरक्षा, अखण्डता र सम्प्रभुताका लागि जरुरी थियो ।”

भारत सरकारले बयानमा चीन र चिनियाँ कम्पनीहरूको नाम लिएको छैन । चिनियाँ एप्सहरूमाथि कसरी प्रतिबन्ध लगाइन्छ भनेर पनि केही खुलाइएको छैन ।

अहिलेसम्म भारतीय निर्णयबारे चीनले पनि कुनै प्रतिक्रिया दिएको छैन ।

चीनको सत्ताधारी कम्युनिस्ट पार्टीद्वारा सञ्चालित अखबार ‘ग्लोबल टाइम्स’ का प्रधान सम्पादक हु चिजिनले ट्विट गर्दै भनेका छन्, “यदि चीनका नागरिकले भारतीय उत्पादन बहिष्कार गर्न चाहे भने उनीहरूले कुनै यस्तो उत्पादन खोज गर्न सक्ने छैनन् । भारतीय मित्रहरू, तपाईंहरूले राष्ट्रवादभन्दा माथि सोच्न जरुरी छ ।”

इन्डियन थिंक ट्यांक ‘गेटवे हाउस’ का निर्देशक ब्लाइस फर्नान्डिजले भारत सरकारको निर्णयबारे जापानी म्यागजिन ‘एसियन निक्केई रिभ्यु’ सँग भनेका प्रतिबन्धले टिकटक प्यारेन्ट बाइटडान्स प्रभावित हुने बताएका छन् ।

उनले भनेका छ्, “अलिबाबा र टेंनसेंट चीनको डिजिटल सिल्क रूटका हिस्सा हुन । प्रतिबन्धले यी एप्सको रेटिङ नेगेटिभ पर्नेछ र जसले प्रमोटरहरूमा पनि असर पर्नेछ । अहिले टिकटकको आईपीओ पनि आउने भएको छ । भारतमा यसका ३० प्रतिशत प्रयोगकर्ता छन् ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर मंगलबार अपराह्न ४ बजे देशवासीलाई सम्बोधन गर्ने बताएका छन् । भारतले चीनका साथ आर्थिक सम्बन्धहरूको समीक्षा गरिरहेको छ । चिनियाँ एप्समाथि लगाइएको प्रतिबन्धलाई यही समीक्षासँग जोडेर हेरिँदै छ  ।

भारत सरकारले सरकारी टेलिकमलाई चिनियाँ कम्पनी ख्वावेका उपकरणहरू प्रयोग नगर्न निर्देशन दिएको छ । भारतले चीनबाट आयात हुने वस्तुहरूमा पनि भारी शुल्क लगाउने सम्भावना छ । –बीबीसी

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *