एजेन्सी । न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा एडर्नले कोरोनाविरुद्ध बेलैमा बहादुरीपूर्ण कदम उठाएर आफ्नो देशलाई ठूलो मानव क्षतिबाट जोगाउन सफल भएकी छन् ।
कोरोनाविरुद्धको लडाईँमा छिटो, तीव्र र कडा प्रतिक्रिया जनाउन सके मात्र सफल भइने उनको भनाइ रहेको थियो ।
यसरी न्युजिल्यान्डका अस्पतालमा अहिले कोरोनाका एकजना बिरामी पनि छैनन् भने पछिल्लो पाँच दिनमा त्यहाँ कुनै नयाँ संक्रमण फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अकल्यान्डस्थित अस्पतालमा बाँकी रहेका अन्तिम बिरामी पनि गए राति नै डिस्चार्ज भएपछि न्युजिल्यान्डका अस्पतालहरुमा कोरोना बिरामीको सङ्ख्या शून्यमा झरेको हो । आधिकारिक तथ्याङ्कका अनुसार अहिले न्युजिल्यान्डमा ८ वटा मात्र ‘एक्टिभ केस’ रहेका छन् जो अस्पताल भर्ना हुनुपर्ने अवस्थामा छैनन् ।
कोरोनाका कूल बिरामी १,५०४ मध्ये १,४७४ ठीक भइसकेका छन् र मृत्यु हुने २२ जना पनि सबै ६० वर्ष भन्दा माथि उमेरका थिए । जसमा पनि आधा बढी ८० वर्षका र चारजना ९० को उमेरका थिए ।
यसरी गत मार्च महिनापछि पहिलोपटक बिरामीको सङ्ख्या शून्य हुन पुगेको बताइएको छ ।
मे ११ पछिदेखि त्यहाँ तीनवटा मात्र नयाँ संक्रमण फेला पारिएको छ भने पछिल्ला पाँच दिनमा बिरामी थपिएका छैनन् ।
न्युजिल्यान्डले हालसम्म २ लाख ६७ हजार भन्दा धेरै नागरिकहरुको टेस्ट गरिसकेको छ र थप २ लाख परीक्षणका सामग्री स्टक गरेर पनि राखेको आधिकारिक डाटामा उल्लेख छ ।
वास्तवमा न्युजिल्यान्डले फ्रेब्रुअरीको २६ मा पहिले संक्रमित फेला परेपछि मार्च १९ देखि नै देशव्यापी रुपमा कडा लकडाउन जारी गरेको थियो ।
त्यो समयमा प्रधानमन्त्री एडर्नको सो निर्णयलाई उल्लेखनीय रुपमा हेरिएको थियो किनकि उनले ठूलो आपत् नआइकन देशव्यापी लकडाउनको घोषणा गरेकी थिइन् ।
जबकी अधिकांश युरोपेली मुलुकहरुमा रोग नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेपछि मात्र गम्भीरतापूर्वक कदम उठाइएको पाइएको छ ।
त्यसैले प्रधानमन्त्री एडर्नको सो निर्णयलाई अत्यन्तै बहादुरीपूर्ण मानिन्छ भने न्युजिल्यान्डको यो नीति अहिले अधिक सफल उदाहरण बन्न पुगेको छ ।
त्यस समय लागु गरिएको कडा लकडाउनमा साथीभाइ कोहीसँग पनि भेट्न नपाइने, औषधि वा सरसामान किन्न जान बाहेक सवारी चलाउन नपाइने अनि सम्पूर्ण व्यवसाय बन्द गर्ने भनिएको थियो ।
यसरी एर्डनले चार हप्ता लामो लकडाउनलाई थप तीन हप्ता लम्ब्याउने निर्णय सुनाउँदा उनले यसो नगरे दशौँ हजारको मृत्यु हुन सक्ने सरकारको मोडलमा देखिएको भनेर सबै नागरिकहरुलाई सचेत गराएकी थिइन् ।
र, जनतालाई डर देखाएर भएपनि बेलैमा सतर्क बनाउने न्युजिल्यान्ड सरकारको नीति प्रभावकारी पनि साबित भयो ।
यसमा न्युजिल्यान्ड वासीहरु कसैले उनको सो निर्णयको विरोध गरेनन् र इमान्दारीतापूर्वक सबै नियम पालन गरेकाले नै देशले यति ठूलो सफलता हासिल गरेको बताइएको छ ।
यसरी संकट व्यवस्थापनको मामिलामा एडर्नले अहिले चारैतिरबाट बलियो समर्थन पाइरहेकी छन् ।
एक वर्ष अगाडि क्रिसचर्चको मस्जिदमा भएको आतङ्की हमलाका बेला पनि उनको प्रतिक्रियाले विश्वभरबाट प्रशंसनीय ठहर गरिएको थियो ।
अहिलेको कोरोना संकटमा भने उनको दैनिक सन्देश, “घरमै बसौँ, दयालु बनौँ । हामी छिटो र कडा रुपमा अघि बढ्नुपर्छ” भन्ने रहेको छ जसलाई पूरै देशले आत्मसात् गर्दछ ।
त्यसैगरी प्रायः देशहरुमा कोरोनाका कारण मृत्यु भएका बिरामी अज्ञात रहन पुग्दा न्युजिल्यान्डमा भने त्यसरी ज्यान गुमाउने प्रत्येक मृतकको व्यक्तिगत रुपमा शोक मनाइएको छ ।
जसलाई पनि उदाहरणीय मानिन्छ किनकि अहिले कोभिड–१९ का कारण ज्यान गुमाउन पुगेका मानिसहरुलाई केबल तथ्याङ्कका रुपमा मात्र हेरिराखिएको छ ।
अहिले भने यो सफलताले देशमा बिस्तारै लकडाउन सहज बनाउने वातावरण ल्याएको र केही समयपछि अष्ट्रेलियाका लागि सिमाना पनि खुलाइन सक्ने अपेक्षा बढाएको छ ।
वास्तवमा न्युजिल्यान्डमा फेला परेका कूल १,५०४ मध्ये आधाभन्दा धेरै केस बाहिरबाट आएको वा विदेश भ्रमण गरेकाहरु रहेका थिए ।
यसैकारण अबका दिनहरुमा यसले सिमानामा परीक्षण गर्ने सम्बन्धी अधिक ध्यान दिने बताएको छ जुन लकडाउन खुलाइएपछि सबैभन्दा जोखिमपूर्ण क्षेत्र बन्ने अनुमान रहेको छ ।
यसअघि प्रधानमन्त्री जकिन्डा एडर्नले अर्को महिनासम्म न्युजिल्यान्ड लकडाउनको लेभल १ मा पुग्न सक्ने बताएकी हुन् ।
जसपछि चर्च, विवाह, अन्त्येष्टिका कार्यक्रमहरु १०० जनासम्मको उपस्थितिमा सञ्चालन गर्न पाइनेछ ।
एडर्नले भनेकी छन्, “हामीले यस्तो निर्णय लिन सक्नुले नै हामी भाइरससँगको लडाईँमा कति सफल भयौँ भन्ने देखाउँछ ।
शुरुवातदेखि नै कडा रुपमा प्रस्तुत हुनुले हामीलाई यो अवस्थासम्म ल्याएको छ र हामीले यही सहकारिता कायम राखेर अगाडि बढ्नुपर्छ ।”
सात हप्ताको कठोर लकडाउन पछि लेभल ४ को लकडाउन अप्रिलको अन्त्यतिर मात्र खुकुलो पारिएको थियो ।
यसपछि यो महिनाको सुरुवातमा लेभल ३ को सो लकडाउन २ मा झारिएको हो जसमा चाहिँ रेस्टुरेन्ट, सिनेमा, पसल र जिमहरु खुलाउन अनुमति दिइएको छ ।
अब लेभल १ मा भने सार्वजानिक भेलामा कुनै रोक लगाइने छैन र सार्वजानिक यातायात, स्कुल र अफिसहरु पनि सबै खुलाउन सकिनेछ ।
यसमा केबल सिमानामा मात्र परीक्षण र केही कडाइ लागु गरिने न्युजिल्यान्ड सरकारले बताएको हो । यसअघि सरकारले ल्याएको कोभिड–१९ को ट्रेसिङ एपमा ४ लाख बढीले साइन–अप गरिसकेको हुँदा त्यसै मार्फत नयाँ संक्रमण पत्ता लगाउन सकिनेछ ।
एडर्नका अनुसार लकडाउनलाई लेभल १ मा पुर्याउने सम्बन्धी जुनको दोस्रो हप्ताको अन्त्यतिर मात्र निर्णय लिइनेछ ।
यसअघि न्युजिल्यान्डले अष्ट्रेलियासँग ‘ट्राभल बबल’ सुरु गर्ने कुरा पनि उठाएको थियो जसमा दुवै देशका नागरिकलाई ओहोरदोहोर गर्न दिइने भनिएको हो । दुवै देशको पर्यटन क्षेत्रमा मद्दत पुग्ने अपेक्षा सहित न्युजिल्यान्डले सो प्रस्ताव गरेको बताएको छ ।
यिनै कारणहरुले गर्दा अहिले प्रधानमन्त्री एर्डनको कोरोना प्रतिक्रियाको ९२ प्रतिशतले समर्थन जनाएको हालै सञ्चालित सर्भेमा देखिएको हो ।
तर पूरै विश्व कोरोनासँग लडिरहेकामा न्युजिल्यान्ड एक्लैले यसलाई जित्नु कतिपय अवस्थामा असहज पनि बन्न सक्ने विज्ञहरु बताउँछन् ।
किनकी खोप पत्ता नलागेको खण्डमा सबै देशहरुले भाइरसकै बीच जीवन जारी राख्नुपर्ने हुन्छ र यसमा न्युजिल्यान्ड मात्र किनारामा पर्न सक्छ ।
– डेली मेल र अन्य अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरुको सहयोगमा






