कास्की : बिना ईजाजत एसिडको ब्यापार गर्ने तीनजना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका, ४ गैह्रापाटनस्थित ग ३ च ११४३ नम्बरको जिपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र सोही महानगरपालिका २ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्नको लागि राखेको ३५० केजी एसिड बरामद गरी उक्त कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिप चालक बारा जितपुरका१९ वर्षीय मिन बहादुर भारती, सोही जिपमा सवार चितवन भरतपुरमा २९ वर्षीय केशब सिंह र अभिषेक औजार पसलका संचालक ६३ वर्षीय बल बहादुर बिक रहेका प्रहरीले जनाएको छ।
कास्कीमा बिना इजाजत एसिडको ओसार पसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाक आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त परिमाणको एसिड बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरु उपर तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।






