Home / Nepal / News / कच्चा पदार्थको मूल्य दोब्बरले बढे संगै तेलको मूल्यमा वृद्धि

कच्चा पदार्थको मूल्य दोब्बरले बढे संगै तेलको मूल्यमा वृद्धि

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ।

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो।

सङ्घका अनुसार सन् २०२० को अप्रिलमा प्रति मेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मेमा प्रति मेट्रिक टन एक हजार ३६३ डलर पुगेको छ ।

यस्तैगरी प्रति मेट्रिक टन ७०४ डलर युक्रेन क्रुड सनफ्लावरको तेलको मूल्य २०२१ को मेमा एक हजार ४९५ डलर पुगेको छ। एक वर्षमा असामान्य रूपमा कच्चा पदार्थको मूल्यमा वृद्धि भएको सङ्घले जनाएको छ ।

यस्तै सङ्घले जुलाईमा कच्चा पदार्थको मूल्य केही घटे पनि पछिल्लो समय बढेको जनाएको छ । अर्जेन्टिनाका क्रुड सोयाविन तेलको मूल्य घटेर प्रतिमेट्रिक टन एक हजार ९५ अमेरिकी डलर र क्रुड सनफ्लावर युक्रेन तेलको मूल्य प्रति मेट्रिक टन एक हजार १६० डलर भएको थियो ।

सङ्घका अनुसार पछिल्लो समय प्रति मेट्रिक टन २०० देखि २४० डलरसम्म तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि भएको छ। “अन्तर्राष्ट्रिय रूपमा नै कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाली बजारमा मूल्य वृद्धि भएको हो । गत अगष्ट २० को विवरणअनुसार प्रतिटन सोयाविन तेल एक हजार ३२७ र सनफ्लावरको कच्चा पदार्थको क्रुड मूल्य एक हजार ३३० अमेरिकी डलर भएको छ,” विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय नेपाली बजारमा खाने तेलको मूल्यमा वृद्धि भएपछि नियामक निकायको रूपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा उपभोक्ता अधिकारकर्मीले चासो देखाउन थालेका छन् । विभागले केही समय अघि तेल उद्योगको अनुगमन गरेर मूल्य बढ्नुको कारण सार्वजनिक गर्नसमेत निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *