काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार नेपालको राष्ट्रियगानका संगीतकार वरिष्ठ कला साधक अम्बर गुरुङको ८३औँ जन्मजयन्ती समारोहमा वर्तमान राजनीतिक परिस्थितिले सरकार विचलित नहुने बताएका छन्।
मन्त्री गुरुङले वर्तमान राजनीतिक उतारचढावका कारण सरकार विचलित नहुने, राष्ट्र र राष्ट्रियताका निम्ति सरकारले अविचलित रुपमा काम गर्ने उनको भनाइ छ। केपी शर्मा ओली नेतृत्वको सरकारले नै मुलुकलाई सही दिशा र सही गन्तव्य दिने उनले दाबीसमेत गरे।
गुरुङले भने, “अहिलेको राजनीतिबाट मुलुकलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय दृष्टिकोण बोकेको नेपाल सरकार कतै विचलित हुनेछैन। सरकारले अविचलित रुपमा नेपाल राष्ट्रको निम्ति, राष्ट्रियताका निम्ति सदा सदा काम गर्छ। केपी शर्मा ओली नेतृत्वको सरकारले नै यो मुलुकलाई सही दिशा र सही गन्तव्यमा पुर्याउनेछ भन्नेमा म विश्वास दिलाउन चाहन्छु।”
मन्त्री गुरुङले संगीतकार अम्बर गुरुङको सांगितिक क्षेत्र र राष्ट्रिय भावनाप्रति ओतप्रोत भएको कलाकारिताबाट सबैले राष्ट्रभक्ति प्रेरणा लिएर अगाडि बढे उहाँ प्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने पनि बताए।
नेपाललाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन संगीतकार गुरुङको योगदान रहेको भन्दै उनले संगीतकार गुरुङप्रति सम्मान व्यक्तसमेत गरे।






