Home / Nepal / News / हात्ती र गैडाको बच्चा मृत भेटिए

हात्ती र गैडाको बच्चा मृत भेटिए

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैँडाको बच्चा मरेका छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १ गते खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ।उक्त अर्ना खुल्ला खोरका झाडीमा देखिएको हो।

यस्तै निकुञ्जको हात्ती तालीम तथा प्रजनन केन्द्र खोरसोरमा मङ्सिर १६ गते जन्मिएको हात्तीको बच्चा मरेको छ । सो छावीको रोगका कारण मरेको प्रारम्भिक अनुमान गरिएको छ । अधिकारीका अनुसार उक्त छावि मर्नुको विस्तृत अध्ययनका लागि नमूना सङ्कलन गरी भेटेनरी शाखामा पठाइएको छ ।

यसैगरी शुक्रबार निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनको बिजुली घोल क्षेत्रमा करिब चार÷पाँच महिनाका गैँडाको बच्चा मृत फेला परेको छ । उक्त बच्चा बाघको आक्रमणबाट मरेको बताइएको छ । बाघले ८० प्रतिशतभन्दा बढी खाएकाले लिङ्ग पहिचान गर्न नसकिएका अधिकारीले बताए । योसहित चालु आर्थिक वर्षमा १८ वटा गैँडा निकुञ्जले गुमाउनु परेको छ। त्यसमध्ये १४ वटा प्राकृतिक कारणले मरेका हुन् भने चार वटा चोरीशिकारीले मारेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *