Home / Sports / क्रिस्टियानो रोनाल्डोले स्विडेनविरुद्धको खेल खेल्ने सम्भावना

क्रिस्टियानो रोनाल्डोले स्विडेनविरुद्धको खेल खेल्ने सम्भावना

एजेन्सी । पोर्चुगिज राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो स्विडेनविरुद्धको खेल खेल्ने सम्भावना छ । 

नेसनस लिगअन्तर्गत क्रोएसियाविरुद्धको खेल गुमाएका रोनाल्डोले मंगलबार राति हुने स्विडेनविरुद्धको खेल खेल्ने सम्भावना रहेको बताइएको छ । खेल नेपाली समयअनुसार राति साढे १२ बजे स्विडेनको घरेलु मैदानमा हुनेछ ।

रोनाल्डोको अनुपस्थितिमा क्रोएसियाविरुद्ध पोर्चुगलले ४-१ को फराकिलो जित निकालेको थियो । पोर्चुगलका लागि जोआओ क्यान्सेलो, डिएगो जोटा, जोआओ फेलिक्स र आन्द्रे सिल्भाले एक एक गोल गरेका थिए ।

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले नेसनस लिगमा आफ्नो जितलाई निरन्तरता दिन  स्विडेनविरुद्ध रोनाल्डो मैदान फर्किने बताइएको छ । यससँगै उनी राष्ट्रिका लागि १०० गोलको आँकडा पूरा गर्न सक्ने छन् । उनले पोर्चुगलका लागि राष्ट्रिय टोलीबाट ९९ गोल पूरा रगेका छन् । राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्नेको दोस्रो स्थानमा रहेका उनी १०० गोल पूरा गर्ने दोस्रो खेलाडी हुने छन् । इरानका अली डाईले १०९ गोल गर्दै शीर्ष स्थानमा छन् ।

“सोमबार टोलीको प्रशिक्षणमा फर्किएका उनले २५ मिनेट प्रशिक्षण गरेका छन्,” प्रशिक्षक फर्नान्डो सान्तोसले भने, “आज उनको अवस्था कस्तो जान्छ, त्यसपछि निर्णय लिनेछौं । १०० बाट एक गोल टाढा भएकाले त्यो खुसीको कारण भने उनलाई मैदान उतारिने छैन ।”

उनले थपे, “उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् । त्यसैले उनको अवास्था टोलीका साथीहरूसँग समान स्तरमा छ भने मात्र खेल्ने सम्भावना प्रबल छ । अहिले उनी राम्रो महसुस गरिहेका छन् र फिट छन् भने मैदानमा देख्‍न पाइनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *