काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता भीम रावलले बुधबार एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा आफ्नो नामको बोर्ड तोडफोड गरिएकोप्रति आपत्ति जनाएका छन्।
उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष मानेर गुन्डागर्दी शैलीमा कार्यालय तोडफोड गरेको आरोप लगाए। “आफूलाई यो प्रदेशको स्वघोषित अध्यक्ष भनेर लेखराज भट्टलाई प्रदेश इन्चार्ज भनेर पाँचवटा कुर्सी भाँचिएको छ। रोक्न खोज्दा हाम्रा केही साथीहरुलाई आक्रमण गरी घाइते बनाइएको छ,” उनले भने।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट रावलको नाम हटाएर बुधबार लेखराज भट्टको नाम राखिएको छ। उनीहरुलाई कारबाही नगरिए माथिल्ला तहबाट परिचालित गुन्डा भनेर बुझ्नुपर्ने रावलले बताए। “मेरो नाम हटाएर लेखराज भट्टको नेमप्लेट राख्ने योभन्दा मर्यादाहीन कुरा के हुन्छ ?,” उनले भने।
उक्त घटनाबारे आफूले पार्टीका महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जानकारी दिएको तर गृह प्रशासनलाई आफूले जानकारी दिँदा पनि केही नगरिएको उनको भनाइ छ।






