Home / Nepal / आरडीटीको भरमा पीसीआर नगरी घर पठाइएका २६ जनामा कोरोना संक्रमण पुष्टि

आरडीटीको भरमा पीसीआर नगरी घर पठाइएका २६ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया । पीसीआर जाँच नगरी आरडीटी जाँच गरी घर पठाइएका बर्दियाका २६ जनामा कोरोना संक्रमण फेला परेको छ ।  जेठ २९ गते क्वारेन्टाइनबाट घर फर्काइएको उनीहरुलाई जेठ ३१ गते स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनीहरुमा बुधबार बिहान कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना संक्रमित  बर्दियाको बढैयाताल गाउँपालिका–१ र २ का २६ जना रहेका छन ।

संक्रमितमध्ये एक जना स्वास्थ्य चौकी प्रमुख हुन् । उनी क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्था बुझ्न जाने गरेका थिए ।

स्वास्थ्य कार्यालय बर्दियाले क्वारेन्टाइनमा रहेका उनीहरुको पीसीआर जाँच नगरेपछि आरडीटी गरी घर पठाइएको थियो ।

संक्रमण पुष्टि भएका व्यक्तिहरु परिवारसँगै बस्दै आएका थिए ।

‘पीसीआर नगरी घर पठाउन हुन्न भन्ने मेरो अडान थियो । तर कहीबाटै सुनवाइ भएन । जोरजुलम गरेर मसहित ३९ जनाको पीसीआर जाँच गर्दा यस्तो भयो,’ कोरोना संक्रमणमा परेका स्वास्थ्य चौकीका प्रमुख भन्छन्, ‘स्वास्थ्य कार्यालयको लापरबाहीले समुदायमा कोरोना फैलने सम्भावना भयो ।’

योसँगै कोरोना संक्रिमितको संख्या बढैयाताल गाउँपालिकामा ४२ पुगेको छ ।

बढैयातालको शारदा उमाविमा २५ सिटको आइसोलेसन बनाइएको थियो ।

तर बुधबार मात्रै एकै दिन २६ जना संक्रिमत देखिएपछि थप आइसोलेसन बनाउनका लागि चुनौती देखिएको उपाध्यक्ष दिपा गौतमले जानकारी दिएकी छिन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *