काठमाडौ । व्यक्तिगत होस् वा व्यावसायिक जिन्दगीलाई लिएर होस अमेरिकन र्यापर कार्डी बी विवादका लागि परिचित छिन् । एकपटक फेरि उनी विवादमा फसेकी छिन् । योपटक उनी हिन्दुधर्मावलम्बीको महान् देवी दुर्गालाई अपमान गरेको आरोपमा आलोचनामा तानिएकी हुन् ।
केहीदिन अघि कार्डीले ट्विटरमा एउटा फोटो पोस्ट गरिन् जसमा उनी हिन्दु देवी ‘दुर्गा’ को जस्तो ८ हात लिएर देवीकै पोजमा थिइन । यस्तो तरिकामा उनी ‘स्निकर’ ब्याडको जुत्ताको प्रचार गरिरहेकी थिइन् ।
उनको यो तस्बिर सामाजिक सन्जालमा देखिनेबित्तिकै भारत तथा नेपालका हिन्दु धर्मावलम्बीहरुको आक्रोश पोखिन सुरु भयो । आक्रोशित ट्विटर प्रयोगकर्ताहरुले दुर्गा देवीको अपमान गरेको भन्दै गाली गर्न थाले भने कतिले हातमा जुत्ता बोकेर दुर्गाका रुपमा बसेर हिन्दूहरुले पुज्ने देवीको अपमान गरेको भन्दै आरोप लगाए ।
ट्विटरमा चर्को आलोचना भएर ट्रेन्ड हुन थालेपछि अन्तत: गायिकाले माफी माग्दै उक्त पोस्ट हटाएकी छिन् । उनले इन्स्टाग्रामको स्टोरीमा माफी मागेको भिडियो हाल्दै कुनै पनि धर्मलाई चोट पुर्याउने उनको मनसाय नभएको र भविष्यमा राम्रोसँग अनुसन्धान गर्ने पनि वाचा गरिन् ।
यद्यपि इन्स्टाग्राममा भने उनको यो फोटो अझै छ र त्यसमा पनि कमेन्टमार्फत उनको आलोचना गरिएको छ ।






