काठमाडौं । भगवान रामको जन्मभूमि अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको छ।
भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई ‘राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ‘चोट पुर्याउने आश्चर्यजनक कदम’ भनिएको छ।
सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन्।
उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही भनेर भनेको उल्लेख गरिएको छ।
अर्को भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरिएको छ।
नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको उनको अभिव्यक्तिलाई देशभित्रै मानिसहरूले विश्वास नगरिरहेको भनेर उसले लेखेको छ।
एनडिटीभी डट कममा प्रकाशित समाचारमा ओलीको अभिव्यक्तिले ‘रामका अनुयायीहरूलाई उत्तेजित पार्ने देखिएको’ लेखिएको छ।






