काठमाडौं : आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
देशभरी मौसममा बदली हुने मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको छ। काठमाडौंमा आज दिउँसो मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ।
यो, वर्ष मनसुन औसतभन्दा केही पछिसम्म सक्रिय हुने भएको छ । सामान्यतः नेपालमा अक्टोबर २ बाट मनसुन बाहिरिन्छ । यो वर्ष औसत निर्धारण गरिएको समयमा मनसुन बाहिरिने सम्भावना नदेखिएको मौसमविद् समीर श्रेष्ठ बताउँछन्।
कति समय पछिसम्म मनसुन सक्रिय रहने त्यो भने यकिन गर्न नसकिने उनको भनाइ छ । अक्टोबरबाट पछि कम्तीमा पनि तीन दिन भने मनसुन सक्रिय नै हुने उनी बताउँछन् । त्यसपछि कतिसमयसम्म रहन्छ त्यो भने आंकलन गर्न नसकिने श्रेष्ठको भनाइ छ ।
मनसुन बाहिरिने क्रममा भारी वर्षाको सम्भावना पनि रहने उनले बताए । “मनसुन बाहिरिने क्रममा भारी वर्षा पनि हुन सक्छ । तर, अहिले नै भारी वर्षा हुन्छ÷हुँदैन त्यो भने भन्न सकिँदैन,” मौसमविद् श्रेष्ठ भन्छन्, “तर, यो तीनदिन भने भारी वर्षाको सम्भावना छैन ।” अहिलेको मौसमी प्रणाली अध्ययन गर्दा हल्कादेखि मध्यम वर्षा हुने उनले जानकारी दिए ।






