काठमाडौं । कोरोना भाइरसको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विभिन्न दलका नेताहरूले आपत्ती जनाएका छन् । राष्ट्रियसभामा बिहिवार प्रधानमन्त्री ओलीले भएका थिए, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’
प्रधानमन्त्रीको सो भनाइलाई पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले वेसुरको संज्ञा दिएका छन् । उनले आफ्नो ट्वीटरमार्फल प्रधानमन्त्री पटकपटक यस्ता वेसुरका कुरा प्रतिवाद गर्नपर्ने बताए ।
उनले लेखेका छन्, ‘देशको प्रमले पटकपटक यस्ता वेसुरका कुरा गर्दा हामी सुनेर बस्छौं वा प्रतिवाद गर्न डराउँछौं भने गरीबी, धामीझाँक्री र अन्धविश्वासको दुष्चक्रमा परेका जनताले किन उनलाई साँच्चैको डाक्टर वा अलौकिक पात्र नमानून् ? अब सबैले साहस बटुलेर भन्नैपर्छ । प्रमको स्वास्थ्य ठीक छैन, छिटो विदा दिनैपर्छ ।’
यस्तै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कस्ता नेताबाट शासित हुनुपरेको भन्दै एकले हिनताबोध प्रकटको गरे बताए ।
उनले ट्वीटरमा लेखेका छन्, ‘कूतर्क गर्ने सर्वज्ञानी वरिष्ठ नेताको ‘भाषण’ हेरेपछि इमानदार, क्षमतावान र विशिष्ट नेतृत्व संभावना बोकेका एक मित्रले भने, हरे…कस्ता कस्ता नेताबाट शासित हुनुपर्यो। मैले भनेँ, ‘तपाईंजस्ता व्यक्ति छरिएर आ-आफ्नै काम गरेर बस्ने अनि खराबहरूले शासन गरे भनेर गुनासो गर्ने ?’
यस्तै काँग्रेस युवा नेता प्रदीप पौडेलले संवेदनहीन शासकको सनकका भरमा राज्य चलेको बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘सयौंको संख्यामा जनतामा संक्रमण फैलिएको छ । सर्वोच्च शासकबाट तातोपानी खाएर कोरोना भगाउने आदेश आउँछ । संवेदनहिन शासकको सनकका भरमा जब राज्य चल्छ, नागरिकको लासमाथी समेत खेलबाड हुन्छ । यो शासन सहनै गाह्रो भइसक्यो । इनफ इज इनफ !’






