काठमाडौं : खोटाङमा ७३ राउन्ड गोली र हतियारसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका ४ घोदरेका २२ वर्षीय केबी तामाङ छन्।
साकेला गाउँपालिका १, सेखुवाको खलेबारी जंगलबाट एकथान एकनाले भरुवा बन्दुक, पेस्तोलमा लाग्ने ७ राउन्ड गोली, लामो हतियारमा लाग्ने ६६ राउन्ड गोली, भरुवा बन्दुकमा लाग्ने केही छर्रा तथा बारुदसमेत उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त जंगल सर्च गर्ने क्रममा तीनजना व्यक्ति जंगलतर्फ भाग्दै गरेको अवस्थामा तामाङलाई उक्त हातहतियारसहित फेला पारीपक्राउ गरेको हो।






