काठमाडौं । विवेकशील साझाका पूर्व संयोजक उज्वल थापाको परिवारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं को सहयोग अस्वीकार गरेको छ । ग्रान्डी अस्पताल मा थापाको जटिल अवस्थामा उपचार भइरहेको छ ।
खर्च धेरै लाग्ने भन्दै थापाका शुभेच्छुकले आर्थिक सहयोगको लागि सार्वजनिक अपील गरेका थिए । सार्वजनिक अपील अनुसार उपचारको लागि पैसा उठेपछि सोही पैसाबाट उपचार गराउने भन्दै प्रसाईंले गर्ने भनेको सहयोग नलिने परिवारले जनाएको हो बीएण्डसीका संचालक दुर्गां प्रसाईंले थापाको सम्पूर्ण खर्च बेहोर्ने भन्दै आजैमात्रै विज्ञप्ति जारी गरेका थिए ।
चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ ।
यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ ।
उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ’ शुभेच्छुक र परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ, ‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ ।
हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’
Ujwal Thapa’s family said they did not need Durga Prasai’s help






