Home / Society / गणतन्त्रको १३ बर्षलाइ फर्केर हेर्दा

गणतन्त्रको १३ बर्षलाइ फर्केर हेर्दा

राममणी बराल

आज जेठ १५ अर्थात हाम्रो देश नेपालमा गणतन्त्र घोषणा भएको दिन। आज भन्दा ठिक १३ वर्षअघि १० बर्षे जनयुद्धको जगमा जनआन्दोलन २०६२/६३ को बलबाट २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले बर्षौ देखि जरा गाडेर बसेको राजतन्त्रलाई विकास र सम्वृद्धिको बाधक देखाई त्यसलाइ अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरिएको थियो।

२०७२ सालमा संविधानसभा मार्फत मुलुक ले संबिधान प्राप्त गरिसकेपछि अबको यात्रा सम्वृद्धि, सुशासन, स्थिरता र दिगो विकास तर्फ सबै राजनीतिक दल केन्द्रित हुनु पर्दथ्यो तर बिडम्बना वर्तमान अवस्थामा नेपालका राजनीतिक दलहरू त्यसको ठिक बिपरित दिशाबाट अगाडि बढिरहेका छन्।

लाखौं नेपालीहरु को भावनासँग जोडिएको आजको ऐतिहासिक दिन उल्लासका साथ मनाउन सबै नेपालीहरु उत्साहित हुनुपर्ने हो। तर अवस्था त्यसको ठीक विपरीत छ गणतन्त्रप्रति जनतामा व्याप्त बितृस्णा छ। जनआन्दोलन लाइ स्मरण गर्दा उनीहरुमा नैरास्यता एवम् हिनताबोध पैदा हुन्छ।

१३ औं गणतन्त्र दिवस मनाइरहँदा हामीले एकपटक ती महान शहीदहरुलाई स्मरण गरौं, जसले गणतन्त्र स्थापनार्थ आफ्नो प्राण को आहूति दिएका थिए। उनीहरुले जुन सपना बोकेर आफ्नो बालबच्चालाई टुहुरो बनाए, श्रीमती को सिउँदो पुछियो, बाआमाको को काख रित्तो भयो आज परिवर्तनको १३ बर्ष भैसक्दा उनीहरुका ती सपनाहरु पुरा भए त? कि के कति कारणले उनीहरूका ती सपनाहरु पुरा हुन बाँकी रहेका छन्? यि लगात यस्तै कयौं प्रश्नहरूको गम्भीर समीक्षा हुन जरुरी छ।

नेपाली जनताहरुले अत्यन्त ठूलो मूल्य चुकाएर ल्याएको गणतन्त्र लाई नेपाली राजनीति दल र त्यसका नेतृत्वकर्ताहरुले सहि सदुपयोग गर्न सकेका छन त? विधिको शासन स्थापित भइ मुलुक दिगो विकास तर्फ उन्मुख भएकै हो त?

ती महान सहिदहरुका सपना पूरा भइसकेको हो त? जनआन्दोलनको क्रममा घाइते एवं अपाङ्ग भएकाहरु अहिलेको अवस्थाबाट सन्तुष्ट छन् त? यि लगायत यस्तै कयौँ प्रश्नहरु गणतन्त्र स्थापनाको १३ वर्ष भइसक्दा पनि अनुत्तरित नै छन।

गणतन्त्र भनेको शासनपद्धति मात्र नभई यो एक जीवन पद्धति पनि हो तर नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, जनप्रतिनिधि, राजनैतिक दलहरुले गणतन्त्रलाई केवल शासन पद्धति र पदप्रतिष्ठा प्राप्ति गर्ने माध्यमको रुपमा मात्र अनुसरण गरेका छन।

राज्यका जिम्मेवार व्यक्तिहरूको चरित्र र उनीहरूको विलासी संस्कारले गणतन्त्रको प्रतिष्ठा माथि नै खण्डित गरेको छ भने जनताप्रति प्राप्त उपलब्धि र यो व्यवस्थाप्रति नै बितृस्णा पैदा भएको छ।अत: आर्थिक विकास, सामाजिक रुपान्तरण र दिगो विकासको दृष्टिकोणले हेर्दा गणतान्त्रिक कालखण्ड झनै निराशाजनक देखिन्छ।

संविधानको अक्षर र जनताको भावना अनुसार राज्य सञ्चालन गरी जनतालाई आर्थिक विकास र सामाजिक रुपान्तरणको अनुभूति दिलाउन सकिएन भने राजनीतिक परिवर्तन र कागजी संविधानको कुनै अर्थ हुँदैन।

अहिले संविधानको रक्षा राजनीतिक प्रणालीको विकास सम्बृद्धि अनि विकास भन्दा पनि सरकारको भ्रष्टाचारी र सर्वसत्तावादी चरित्रका कारण लोकतान्त्रिक गणतन्त्र र संविधानको भविष्यमाथि नै गम्भीर संकट उत्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *