रासस/एएफपी । लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनका कारण बेपत्ता भएका मध्ये ६० जना अझै सम्पर्क बिहिन रहेका छन् ।
दुर्घटना भएको चार दिन वितिसक्दा समेत बेपत्ता भएकाहरुलाई पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।
शक्तिशाली विस्फोटनका कारण अहिलेसम्म १५० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । “अहिलेसम्म मृत्यु भएकाहरुको संख्या १५४ पुगेको छ । ती मध्ये २५ जनाको अहिलेसम्म पनि पहिचान हुनसकेको छैन,” एक अधिकारीले एएफपीलाई भने ।
उनले अहिलेसम्म पनि ६० जना बेपत्ता नै रहेको र उनीहरुको खोजी तथा उद्धार प्रयास भइरहेको जानकारी दिए ।
स्वास्थ्य मन्त्रीले शुक्रवार दिएको जानकारीअनुसार झण्डै ५ हजार जना घाइते भएका र ती मध्ये १२० जनाको अवस्था गम्भीर रहेको बताए ।
विस्फोटनपछि झण्डै ३ लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् भने त्यही रहेकाहरु पनि त्रसित अवस्थामा रहेका छन् ।
शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबार विहिन भएकाले उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।






