काठमाडौं । गत वैशाख ८ गते राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएर केपी शर्मा ओलीले नेकपालाई आश्चर्यचकित तुल्याएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) पूर्वघटक समाजवादी पार्टीको एउटा समूहलाई विभाजन हुन मद्दत पुगोस् भनेर अध्यादेश ल्याएको बताएका थिए ।
तर, पार्टीका नेताहरू मान्न तयार भएनन् । त्यतिबेला पूर्वएमाले समूहकै नेताहरूले ओलीले नेकपा विभाजनकै लागि अध्यादेश ल्याएको तर्क गरेका थिए ।
पार्टीबाट बलियो प्रतिरक्षा भयो । स्थायी कमिटीका २० जना सदस्य विरूद्धमा खडा भए । लिखितरूपमा बैठक माग गरे । प्रधानमन्त्रीले बचाउन नै गर्न नसकेपछि ४ दिनपछि, अर्थात्, वैशाख १२ गते अध्यादेश फिर्ता भयो । तथापि, त्यसको तरङ्ग साम्य भएको छैन ।
स्थायी कमिटीको जारी बैठकको छैठौं दिनमा पुग्दा नेकपाभित्र अध्यादेश प्रकरण पुनः ब्युँतिने सम्भावना बढेको छ ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री केपी ओलीले आज हठात् ढङ्गबाट संसद्को चालु अधिवेश स्थगित गरिदिएपछि पार्टीसामु नयाँ चुनौती खडा भएको बताउँछन् ।
बैठक चल्दाचल्दै अनपेक्षित ढङ्गले चालेको प्रधानमन्त्रीको कदमले पार्टीभित्र थप विग्रह पैदा हुने र विभाजनको दिशामा जानसक्ने उनले खतरा औंल्याउछन् ।
“स्थायी कमिटीको बैठक चल्दै थियो । बैठक चल्दाचल्दै प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्य गरिदिनुभयो । सँगसँगै पुराना अध्यादेश ब्युँताउने र सङ्कटकाल लगाउनेसम्मको हल्ला चल्यो । त्यसले बैठकलाई तरङ्गित गर्ने काम गर्यो । हामीले प्रधानमन्त्री ओलीबाट बैठकमै जवाफको अपेक्षा गरेका थियौं ।
बैठकमा नआएपछि अध्यक्ष प्रचण्डले उहाँसँग छलफल गर्नुभयो । बैठक रोकेर अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई पनि भेटेर अध्यादेश सिफारिस भएर आएर रोक्नुस् भनेर आग्रह गर्नुभएको छ । राष्ट्रपतिले पनि अध्यादेश सिफारिस गर्नुभएको छैन भनेर जवाफ दिनुभएको कुरा प्रचण्डले बैठकलाई जानकारी गराउनुभयो,” उनले भने ।
उनले पनि अध्यादेशको मस्यौदा तयार भइसकेको र मन्त्रिपरिषद् बैठक राखेर निर्णय गर्न बाँकी रहेको सम्भावना व्यक्त गरे ।
यस विषयमा मन्त्रिपरिषद् सदस्यसँग पनि जिज्ञासा राखेको थियो ।
एक मन्त्रीले यसअघि संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशत पुगे दल विभाजनको मान्यता पाउने प्रावधानको सट्टा २० प्रतिशत राखेर अध्यादेशको मस्यौदा तयार पारिएको दाबी गरे ।
“मन्त्रिपरिषद्मा नआइपुगे पनि २० प्रतिशतको प्रावधान छ भन्ने सुनेका छौं । त्यही भएर आज स्थायी कमिटीको बैठक तरङ्गित बन्न पुग्यो,” ती मन्त्री भन्छन्, “संसद् अधिवेशन अन्त्यपश्चात् आशङ्कालाई थप बल पुगेको छ ।”






