Home / Nepal / News / विद्यालयले यी मापदण्ड पूरा गरे कक्षा सञ्चालन गर्न पाउने

विद्यालयले यी मापदण्ड पूरा गरे कक्षा सञ्चालन गर्न पाउने

काठमाडौं : बुधबार बसेको नगर शिक्षा समितिको बैठकले काठमाडौं महानगरपालिकाभित्रका विद्यालय स्वास्थ्य मापदण्ड पूरा गरि यही असोज १० गते बाट सञ्चालन गर्ने निर्णय गरेको छ।

कोभिड–१९ संक्रमणका कारण विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहितको निर्णय गरेको हो।

पालना गर्नुपर्ने न्यूनतम मापदण्डहरू
१. विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षाकोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने ।
२. विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक–फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
३. विद्यालयको गेटमा र कक्षाकोठाबाहिर स्यानिटाइजर वा साबुनपानीको प्रबन्ध गरी बेलाबेलामा हात स्यानिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने ।
४. विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको यकिन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने ।
५. विद्यालयको गेट, कक्षाकोठा र शौचालयको प्रयोग गर्दा बच्चाहरू लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने ।
६.विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने ।
७. विद्यालयहरूले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई अनिवार्य रूपमा शिक्षा विभागमा पेस गर्ने ।
८. विद्यालयमा विद्यार्थीहरूको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने, यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने ।
९. सबैजनाले अनिवार्य रूपमा मास्क लगाउने, जगेडा मास्क लिई आउने र मास्क नलगाई आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने ।
१०. खाजा र पानीको प्रबन्ध विद्यार्थी स्वयंले घरबाट नै गर्न सूचित गर्ने ।
११. कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरूको बसाइ व्यवस्थापन गर्ने ।
१२. प्रत्येक दिन कक्षा सुरु गर्नुपूर्व र कक्षा सञ्चालनपश्चात् विद्यालय परिसर र कक्षाकोठाहरू अनिवार्य रूपमा स्यानिटाइज गर्ने व्यवस्था मिलाउने ।
१३. स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई विद्यालय नआउन जानकारी गराउने ।
१४. विद्यालयहरूले बालबालिकाहरूलाई हरेक दिन कक्षा सञ्चालनपूर्व १० र १५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने ।
१५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित वडाबाट नियमित रूपमा अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने ।
१६. विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोभिड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।
१७. विद्यालयमा स्वास्थ्य हेल्पडेस्क राख्ने ।
१८. सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर क्रमशः तल्ला कक्षाहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
१९. सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही पिरियड मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी पिरियडको संख्या बढाउदै लैजाने ।
२०. सबै विद्यार्थीहरूको भौतिक उपस्थितिमा पूर्ण रूपमा कक्षा सञ्चालन नहुञ्जेल चालु वैकल्पिक सिकाइलाई निरन्तरता दिने ।
२१. अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशनानुसार गर्ने ।
२२. काठमाडौं महानगरपालिका, शिक्षा विभागमार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने । १६. विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुट्टै आइसोलेसन कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउने ।
२३. विद्यालयमा सामूहिक कार्यक्रम/सामूहिक प्रार्थना आदि नगराउने ।
२४. विद्यालयमा खाजा समयमा भिडभाड नहुने गरी आलोपालो गर्ने प्रबन्ध मिलाउने ।
२६. विद्यार्थीलाई आफ्ना पाठ्यसामग्री, पानीका बोतल, खाजा, झोला आदि सामान आफूले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने ।
२७. अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारीसाधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारीसाधनमा बस्ने व्यवस्था मिलाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *