Home / Society / नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि चितवनमा उच्च सतर्कता

नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि चितवनमा उच्च सतर्कता

चितवन । लगातारको बर्षाद र नारायणी, राप्ती नदीलगायत जिल्लाका खोला र घोलहरुमा पानीको सतह बढ्न थालेपछि चितवनमा उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले नदी र खोला किनाको बस्तीका बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन् ।


चितवनमा भारी वर्षा नभएपनि नदी किनारको बस्ती भएको विशेषगरी नारायणी नदीमा पानीको सतह बढ्दै गरेको राप्तीलगायतका खोला किनारमा बाढी पस्ने सम्भावना भएकाले सतर्क रहनु अनुरोध गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको बताउनुभयो । महानगरको नारायणी र राप्ती नदी तटीय २२, २३, १६, १७, २६, २७ र २८ बाढीको जोखिम रहेका वडाहरु हुन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणी नदी तटीय क्षेत्र जोखिममा रहेको सूचना जारी गरेको भन्दै सोहीअनुसार जिल्लामा सतर्कता अपनाइएको र स्थानीयलाई सतर्क रहन भनिएको बताउनुभयो ।

उहाँले जिल्लाका सात वटै स्थानीय तहहरुलाई बाढीको जोखिमबाट बच्न पूर्व तयारी गर्न भनिएको जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबारदेखि सुुरु भएको मनसुन आइतबारसम्म रहने पूर्वानुमान गरेको छ ।

नारायणी नदी देवघाट बाढीमापन केन्द्रका अनुसार नारायणी नदीले सतर्कता तह पार गरी खतराको तहमा पुग्नसक्ने पूर्वानुमान गरिएको छ ।

माडी क्षेत्रमा बिहीबारदेखि परेको लगातारको वर्षाले खोला नियन्त्रणमा लगाइएका ड्यामहरु बाढीले क्षति पु¥याउन थालेको भएपनि हालसम्म मानवीय क्षति भएको छैन ।

माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले पछिल्लो २४ घण्टामा माडी क्षेत्रमा ११० मिलीलिटर पानी परेको बताउनुभयो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *