हलिउड : अमेरिकन पपगायिका ब्रिटनी स्पियर्सको बुवा जेमी स्पिर्यससँगको कानुनी लडाइँको करिब अन्त्य भएको छ। विगत १३ वर्षदेखि कानुनी रूपमा बुवाको संरक्षणमा रहेकी गायिका ब्रिटनीले पछिल्लो दुई महिनादेखि यो लडाइँ लडिरहेकी छन्।
बुवाको संरक्षणबाट छुटकारा पाउन अदालतको ढोका ढकढक्याउन पुगेकी उनले न्याय पाउने भएकी छन् । ब्रिटनीका बुवा छोरीको संरक्षकबाट राजीनामा दिन तयार भएका छन् ।
२३ जुनमा नयाँ वकिल हायर गरेपछि उनले भावुक हुँदै आफ्नो व्यक्तिगत र व्यावसायिक वीवनमा बुवाको ‘कन्ट्रोल’का कारण मानसिक रूपमा तनाव भएको बताएकी थिइन । यति मात्रै नभई उनले बुवाको कन्ट्रोल भएसम्म कतै पनि प्रस्तुति नदिने निर्णय पनि सुनाएकी थिइन ।
गएको बिहीबार ब्रिटनीका बुवा जेमीका वकिलले विज्ञप्ति जारी गरी उनी यसबाट टाढा हुन तयार भएको बताएका थिए । यद्यपि, यसमा जेमीले राजीनमा दिनुपर्ने त्यस्तो कुनै कारण नभएको भए पनि यो लामो लडाइँ अब अन्त्य गर्ने निधोमा पुगेको पनि उल्लेख गरिएको छ । तर, उनी ब्रिटनीको बुवाको रूपमा भने सधैँ रहने पनि उल्लेख छ ।
यो निर्णयसँगै ब्रिटनीका नयाँ वकिलले यो ब्रिटनीका लागि सफलता र न्यायनजिक पुग्ने अर्को खुड्किलाको रूपमा व्याख्या गरेका छन्।






