Home / Nepal / भरियो सिसडोल, काठमाडौंको फोहोर अझै केही दिन नउठाइने

भरियो सिसडोल, काठमाडौंको फोहोर अझै केही दिन नउठाइने

काठमाडौं : लामो समयदेखि काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ।

काठमाडौं महानगरपालिकाले गत सोमबार नै सूचना जारी गर्दै एक हप्ता फोहाेर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो। निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहाेर व्यवस्थापनमा समस्या हुनसक्ने महानगरपालिकाले बताएको छ।

महानगरपालिकाका अनुसार “चार दिनदेखि साविकझै फोहाेर उठ्न सकेको छैन, वर्षाको समय भएकाले अन्य समयमा भन्दा बढी फोहाेर उत्पादन हुने गर्दछ, सकेसम्म कम फोहाेर निकाल्ले र त्यसलाई बाहिर सडकमा नभई घरमा नै व्यवस्थापन गर्न नागरिकलाई अनुरोध गर्दछु”, महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने ।

महानगरले केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको छ।

सामान्य समयमा हरेक दिन २०० गाडीले फोहर व्यवस्थापन गर्दै आएका थिए। अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले जानकारी दिए। एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रेकाले मर्मतका लागि केही दिन लाग्ने महानगरले जनाएको छ।

हाल फोहाेर विसर्जन भएको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभिसँग ठेक्का सम्झौता गरिएको थियो । बञ्चरेडाँडामा दीर्घकालीन फोहाेर व्यवस्थापनस्थल निर्माणको काम समयमा नै नसकिँदा पनि समय–समयमा फोहाेर व्यवस्थापनमा समस्या आइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *