Home / Society / क्वारेन्टिनमा सामूहिक बलात्कारका तीन आरोपीमाथि अनुसन्धान शुरु

क्वारेन्टिनमा सामूहिक बलात्कारका तीन आरोपीमाथि अनुसन्धान शुरु

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-१ मा रहेको शहीद स्मृति माध्यामिक विद्यालयमको क्वारेन्टाइनमा बसेकी महिलामाथि जबरजस्ती करणी आरोप लागेका लम्कीकै तीन जना युवाविरुद्ध पीडित महिलाले जाहेरी दर्ता गरेसँगै उनीहरूविरुद्ध थुनामा राखी थप अनुसन्धानका लागि म्याद थपको तयारी गरेको छ ।


पीडित महिलाले जबरजस्ती करणीको आरोपमा दिएको किटानी जाहेरीका आधारमा आरोपी तीन जना युवालाई हिजो पक्राउ गरी जबरजस्ती करणी आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको कैलालीका प्रहरी नायब निरीक्षक तथा प्रवक्ता प्रतीक विष्टले जानकारी गराउनुभयो ।


लम्की चुहा नगरपालिका – १ स्थायी ठेगाना भएका ३१ वर्षीया महिलामाथि जबरजस्ती करणीका आरोपीत सोही वडाका तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता विष्टले बताउनुभयो ।

उहाँले क्वारेन्टाइनमा बसेकी महिलामाथि स्वास्थ्यकर्मी एवम् क्वारेन्टाइन व्यवस्थापनमा स्वयंसेवकका रुपमा कार्यरत २२ वर्षीय किशोर परियार, स्वयंसेवककै रुपमा खटिएका अरु दुई जना २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।


भारतको बैंग्लोरबाट आएकी महिला क्वारेन्टाइनमा बस्दैआउनुभएको थियो ।

शनिबार राति क्वारेन्टाइन व्यवस्थापनमा खटिएकै युवाले आफूमाथि सामुहिक बलात्कार गर्नुका साथै भिडियो बनाई पैसासमेत मागेको पीडित महिलाको आरोप छ ।

उक्त घटना बाहिर आएपछि लम्कीका स्थानीयले दोषीमाथि कडा कारबाहीको माग राख्दै नाराजुलुस गर्नुका साथै वडा कार्यालय तोडफोडसमेत गरेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *