Home / Politics / ‘५ वटा मेसिन र २५ हजार वटा किट किनेर १० अर्बको हिसाब किताब देखाउन पर्दैन ?’

‘५ वटा मेसिन र २५ हजार वटा किट किनेर १० अर्बको हिसाब किताब देखाउन पर्दैन ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रतिनिधि सभाको बैठकको सुरूवातमै अवरोध खडा गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठक प्रारम्भ भएलगत्तै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुख सापकोटाले विमतिको विषय राख्न ५ मिनेटको समय दिए ।

लगत्तै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोनाले मृत्यु भएका मानिसको संख्या लुकाएको इंकित गर्दै क्वारेन्टाइन मान्छे मार्ने केन्द्रको रूपमा विकसित भएको टिप्पणी गरे ।

वर्तमान सरकारले कोरोना भाइरस नियन्त्रण पार लगाउन नसक्ने बताउँदै थापाले भने, ‘१० अर्ब खर्च कहाँ भयो अब हामीलाई हिसाब चाहिन्छ,’ उनले भने, ‘५ वटा पीसीआर मेसिन किन्ने र २५ हजार वटा जम्मा किट किनेर १० अर्बको हिसाब किताब देखाउन पर्दैन ?’

महामारीका बेलाको भ्रष्टाचार निर्लज्जताको पराकाष्ठा भएको उनको टिप्पणी छ ।

क्वारेन्टाइनको गुणस्तरमा प्रश्न उठाउँदै उनले सरकारलाई प्रश्न गरे, ‘१ लाख ६६ हजार मानिस बस्छन् भनेर प्रधानमन्त्री आएर बताउनुहुन्छ, यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो ?’ थापाले प्रश्न राखेपछि कांग्रेसले अवरोध हटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *