Home / Nepal / News / उहिलेका गुरु र अहिलेका मास्टर

उहिलेका गुरु र अहिलेका मास्टर

लेखक :- सोमनाथ दाहाल 

हामी मानिसले जीवनको भोग विलास गरी रहँदा मानिसलाई अत्याधिक मात्रामा नभै नहुने भनेको ज्ञान हो । जुन ज्ञान भएन भने मनुष्य भएर जन्म लिएको निरर्थक मानिन्छ । 

यो पृथ्वीमा मान्छेले परापूर्व कालदेखि नै ज्ञान आर्जन गर्नका लागी गुरुको आवश्यकता र महत्व विभिन्न शास्त्र र अनुसन्धानबाट पत्ता लागेका कुरा हो । यो पृथ्वीमा हड्डी र छालाको एउटा सजीव वस्तुलाई मान्छेको रूपमा प्रस्तुत गर्ने अत्याधिक शक्तिशाली र क्षमता गुरुसँग रहेकाे हुन्छ।

गुरु शब्द नै एउटा शक्ति हो । जुन शब्दलाई पूर्वीय शास्त्रमा विभिन्न तरिकाले विश्लेषण गरिएको छ । त्यस अन्तर्गत मनु स्मृति अनुसार निम्न तरिकाले व्याख्या गरिएको छ :-

उपाध्यायः पिता माता ज्येष्ठो भ्राता महीपतिः ॥
मातुलः श्वशुरश्चैव मातामहपितामहौ ॥
वर्णज्येष्ठः पितृव्यश्च सर्वे ते गुरवः स्मृताः ॥
अर्थात्
उपाध्याय, पिता, माता, दाजु, राजा, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, जातमा ठूलो वा ब्राह्मण र काका पनि गुरु हुन् । भनेर भनिएको छ । त्यस्तै गरी गुरुगीतामा निम्न अनुसार गुरु शब्दलाई परिभाषित गरिएको छ :-

गुकारस्त्वन्धकारस्तु रुकार स्तेज उच्यते।
अन्धकार निरोधत्वात् गुरुरित्यभिधीयते॥
अर्थात्
गु भनेको अन्धकार र रु भनेको प्रकाश हो । यसकाे भाव जसले अज्ञान रूपी अनकन्टार अँध्यारोबाट ज्ञान रूपी प्रकाशको ज्योतिमा सफलता पूर्वक निकाल्न सक्छ भने उसलाई गुरु भनिन्छ ।

पाश्चात्यका विद्वान्हरूले पनि गुरु शब्दलाई परिभाषित गरेका छन् ।
ती विद्वान्हरू मध्ये फोबेलले ” विद्यार्थीलाई विरुवा र गुरुलाई बगैँचे हुन् ” भनेका छन् । त्यस्तै गरी “शिक्षकहरू राष्ट्रको मेरुदण्ड हुन्” भनेर अब्दुल कलामले भनेका छन् ।

यसै गरी नेपाली साहित्य क्षेत्रका चर्चित र विद्वान् कवि डा. देवी नेपालले छन्दका माध्यमबाट गुरुलाई निम्नानुसार प्रस्तुत गरेका छन् :-

आफू जलेर धर्तीमा उज्यालो गुरु छर्दछन्
आफू गलेर मट्टी झैँ मूर्ति निर्माण गर्दछन्
जसको स्नेहका सामु अरूको स्नेह व्यर्थ छ
जसको त्याग देखेर धर्ती माथ झुकाउँछ ।

यसरी विभिन्न विद्वान् र शास्त्रको कुरा गरी रहँदा अाधुनिक प्रविधि र प्रमाण पत्रको शिक्षातिर अाधुनिक शिक्षा उन्मुख भएको अवस्थामा गुरुको ठाउँमा गुगल प्रयोग भएको छ भन्दा अत्योक्ति नहोला । गुरुको ठाउँमा गुगलले ओगटी रहँदा कतिले गुरुमुखी ज्ञान जस्तै शिक्षा प्राप्त गरेका छन् भने कति मानिसले नकारात्मक सन्देश प्राप्त गरेका छन् ।

नेपाल र नेपालीको सन्दर्भमा गुरु भनेर कर्मकाण्ड , पुराण , ज्योतिष पढेका र कुनै धर्मका संरक्षण गर्नेलाई मानेको पाइन्छ । अहिलेका युवा युवतीले गुरुको प्रमुख प्रयोग सवारी साधनको चालकलाई उपनामका रुपमा प्रशस्त प्रयोग गरेको देख्न र सुन्न सकिन्छ ।

परापूर्व कालमा गुरुका रूपमा जो व्यक्तिलाई हामी सम्मान र आदर गरिन्थ्यो । उहाँहरू रूप कोही त श्याम सुन्दर पाराशरको भनाई जस्तै मास्टर भई सक्नु भएको छ ।

( श्याम सुन्दर पाराशरको भनाई
“मासि मासि रूप्यकाणि टर्रायते इति मास्टर”
अर्थात्
जसले महिना सकियो विद्या कति दिन सक्यो थाहा छैन तर तलब भत्ताकाे कुरा गर्दछ नत्र शिक्षा प्रदान गर्दैन यस्तालाई मास्टर भन्दछन्। )

गुरु र मास्टरको मध्य भागमा विकास हुनु भएकाहरू मध्ये केही प्राध्यापक र शिक्षकलाई मान्न सकिन्छ । जो विद्यार्थीको शिक्षाका तर्फभन्दा आफ्नो सेवा सुविधाको लागि आन्दोलन गर्नु हुन्छ । तर केही ठाउँमा अझै पनि यस्ता गुरु भेट्न पाइन्छ ।

जसले निस्वार्थ भावले शिक्षा दिने जीवनको ज्ञान बताउने र आफ्नो गुरु दक्षिणाका रूपमा अर्कालाई ज्ञान प्रदान गर्नु भनेर शिष्यलाई आदेश दिनु हुन्छ ।

सबै गुरुहरू त आफ्नो ठाउँमा गुरु हुनुहुन्छ नै तर गुरु बन्न नसक्नु भएका मास्टर , प्राध्यापक र शिक्षकलाई पनि मनदेखि नै सम्पूर्ण विद्यार्थीले गुरुको आदर र सम्मान गर्ने वातावरण बनोस् । 

स्वार्थ भन्दा निश्वार्थमा शिक्षा लिन र दिन सक्दा एक एक व्यक्ति गर्दै समाज बन्नेछ , एक एक समाज गरी देश बन्नेछ , एक एकदेश गर्दै विश्व बन्नेछ र मानव समुदाय अत्याधिक रूपमा शिक्षित र विकसित हुनेछ । त्यसैले मास्टर भन्दा गुरु बन्न सिक्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *