Home / Nepal / नेपालसँगको सीमा विवाद तत्काल वार्तामार्फत समाधान गर्न भारतीय राष्ट्रिय कांग्रेसको माग

नेपालसँगको सीमा विवाद तत्काल वार्तामार्फत समाधान गर्न भारतीय राष्ट्रिय कांग्रेसको माग

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसले नेपालसँगको सीमा विवाद तत्काल वार्तामार्फत समाधान गर्नुपर्ने भारत सरकारसँग माग गरेको छ ।

भारतीय कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभा नेता आनन्द शर्माले एक विज्ञप्ति जारी गर्दै नेपाल-भारत सम्बन्धको महत्व र संवेदनशीलतालाई ख्याल राख्दै तत्काल वार्तामार्फत् समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् । 

भारत र नेपालबीचको सीमा विवादलगायतमा समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र हुँदा हुँदै पनि अहिलेको अवस्था आउनु दु:खद भएको नेता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दुई देशबीचको ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धमा दरार आएकाले तत्कालै सम्बोधन हुनुपर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “भारतले सधैं नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको र दुई देशले करिब ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको बाँकी रहेका सीमा विवाद पनि आपसी समक्षदारी र मित्रताकै आधारमा कूटनीतिक वार्ता र सम्झौतामार्फत नै समाधान हुनुपर्नेमा भारतीय कांग्रेस अडिग छ ।”

८ मार्चमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेसँगै दुई देशबीचको सम्बन्धमा दरार उत्पन्‍न भएको छ ।

नेपाली पक्षसँग सल्लाह नगरी एकतर्फी रुपमा भारतले सडक बनाएपछि नेपाल सरकारले कूटनीतिक नोटमार्फत् त्यसको विरोध गरेको थियो ।

नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजलनीतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ ।

यस नक्सालाई निशान छापमा राख्‍नका लागि संविधान संशोधनको प्रक्रिया चलिरहेको छ ।

संविधानमा संशोधनमा सम्पूर्ण राजनीतिक दलले सहमति जनाएका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *