बिराटनगर । प्रदेश १को मोरङमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुई/दुईजना र धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मोरङको लेटाङ नगरपालिकामा दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । वडा नम्बर ५ स्थित लेटाङ बहुमुखी क्याम्पसमा निर्मित क्वारेन्टाइनमा राखिएका ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा दुईजनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरु लेटाङ–४ का २९ र ३० वर्षीय पुरुष हुन् । लेटाङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार उनीहरु जेठ १४ गते भारतबाट आएका थिए ।
उनीहरुलाई क्वारेन्टाइनबाट घर पठाउने तयारीका लागि गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको आइतबार मात्रै स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।
क्याम्पसको क्वारेन्टाइनमा १० जना पुरुष र १ महिला रहेका थिए । संक्रमित दुवैजनालाई सुन्दरहरैंचाको गोठगाउँस्थित आइसोलेशनमा पठाउने तयारी भइरहेको जनस्वास्थ्य अधिकृत चौधरीले जानकारी दिए ।






