Home / Politics / काङ्ग्रेसले अपराह्न ५ बजेभित्र समितिको प्रतिबेदन बुझाउने

काङ्ग्रेसले अपराह्न ५ बजेभित्र समितिको प्रतिबेदन बुझाउने

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज (सोमबार) बुझाउँदै छ। प्रतिवेदन अपराह्न ५ बजेभित्र बुझाउने समितिको तयारी छ।

समिति सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासित समय माग गरिएको छ । “आज त बुझाउनै भनेका छौँ,” लेखकले बाह्रखरीसँग भने, “हिजो केही विषयमा मिलेको थिएन, अहिले लगभग सहमति बनेको छ ।”

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले अपराह्न ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । ‘‘हिजो जनै पूर्णिमा पर्व पनि पार्‍यो , केही विषयमा विवाद पनि थियो,’’ उनले भने, ‘‘आज साँझ ५ बजेपछि प्रतिवेदन बुझाउने कुरा छ ।’’

तर, देउवानिकट एक पदाधिकारीले भने आजै प्रतिवेदन बुझाउनेमा शंका व्यक्त गरे। ‘‘हिजो पनि बिहानसम्म त मिलेकै भन्ने थियो, तर समितिले प्रतिवेदन बुझाउन सकेन,’’ उनले भने, ‘‘हिजो बेलु्की बसेर भएका असमझदारीहरु हटाउने काम भएका छन्, आज सम्भवतः बुझाउछन् की!’’ समितिले सभापतिलाई नबुझाएसम्म मिति तोक्न नसकिने उनले बताए।

गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो। डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो। तर, समितिले भदौ पहिलो साता पुग्दा समेत प्रतिवेदन बुझाउन सकेको छैन ।

कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *