Home / Nepal / News / मृत्यु भएको एक सातापछि कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४ पुग्यो

मृत्यु भएको एक सातापछि कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४ पुग्यो

जनकपुर । वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा स्थानीय वृद्धको मृत्यु भएको एक सातापछि कोरोना संक्रमणको पुष्टि भएको छ । 

रुघाखोकी र दमलगायत समस्याबाट पीडित वीरगन्ज १२ का ७० वर्षीयलाई उनका आफन्तले जेठ २ गते अस्पतालमा भर्ना गरेका थिए ।

 वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिएपछि चिकित्सकले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो । त्यसको दुई दिनपछि अर्थात् जेठ ४ गते उनको मृत्यु भयो । 

वृद्धको उपचारका क्रममा कोरोना संक्रमणको लक्षण देखिएका आधारमा उनको पीसीआर जाँचका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो ।

तर, उक्त जाँचको रिपोर्ट नआउँदै उनको मृत्यु भएपछि अस्पतालले सद्गतका लागि शव परिवारजनलाई जिम्मा लगाएको थियो ।

अन्त्येष्टि भएको एक सातापछि उनी संक्रमित भएको पुष्टि भएपछि उनका परिवारका सबै सदस्यलाई पीसीआर जाँच गर्ने तयारी भएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन् ।

  स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म यसबारे केही भनेको छैन । कोरोना संक्रमितको मृत्यु भएको प्रदेश २ का लागि यो पहिलो घटना हो । प्रदेश २ मा सोमबार मात्रै ५२ जनामा संक्रमण पुष्टि भएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *