बेइजिङ । चीनले भारतसँग भएको झडपपछि लद्दाखसँग जोडिएको सीमा क्षेत्रमा सैनिकको तैनाथी बढाएको छ ।
चिनियाँ सञ्चार माध्यमले लद्दाख नजिकै पर्ने गेलवोन उपत्यकामा ठूलो संख्यामा सैनिक तैनात गरेको छ ।
मे महिनाको पहिलो साता यही क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । झडपमा परी दुवैतर्फका केही सैनिक घाइते भएका थिए ।
चिनियाँ अखबार ग्लोबल टाइम्सले गेलवोन घाटीनजिकै सीमाको रक्षाका लागि पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले ठूलो संख्यामा सैनिक तैनाथ गरेको दाबी गरेको छ ।
ग्लोबल टाइम्सले चिनियाँ सेना सम्बद्ध स्रोतलाई उद्धृत गर्दै उक्त क्षेत्रमा गस्तीमा जाने भारतीय सैनिकलाई रोक्न आफ्नाे देशले सैनिकको तैनाथी बढाएको जनाएको छ ।
समाचारमा चीनले गेलवोन घाटीमा आफ्नाे अधिकार भएको दाबी गरेको छ । उक्त क्षेत्रमा भारत सामरिक स्थल बनाएर नियन्त्रण रेखामा एकतर्फी परिवर्तन ल्याउने प्रयास गरिरहेको छ ।
भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले चिनियाँ सैनिक भारतीय क्षेत्रमा घुसपैठ गरिरहेको दाबी गरेको छ । नवभारत टाइम्सले उक्त क्षेत्रमा चीनले आफ्नो सैन्य उपस्थिति अत्यन्तै मजबुत बनाएको समाचारमा उल्लेख गरेको छ ।






